१० हप्तापछि रोनाल्डो युभेन्टस फर्किए
काठमाडौं। युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डोले १० साताको छुट्टिपछि आज क्लबको ट्रेनिङ सेन्टरमा मेडिकल टेष्टका लागि रिपोर्ट गरेका छन्।

लकडाउनको समय जन्मथलो पोर्चुगलमा रहेका पाँचपटकको बालोन डी‘अर विजेता रोनाल्डो टुरिनस्थित घरमा दुई साता आइसोलेसनमा बसेका थिए। उनी इटालियन सिरी ‘ए’ मा इन्टर मिलानलाई २-० ले पराजित गरेको खेलपछि टीमसँग छैनन्। ८ मार्चको उक्त खेलपछि उनी पोर्चुगलको माडेइरास्थित आफ्नो घर गएका थिए।

सरकारले लकडाउनको घोषणा गरेपछि ९ मार्चबाट इटालियन सिरी ‘ए’ स्थगित भएको थियो। सिरी ‘ए’ १३ जुनबाट शुरू गर्ने तयारी गरिएको थियो। तर, इटालियन सरकारले १४ जुनसम्म सबै खेलकुद गतिविधिमा रोक लगाएको छ।

रोनाल्डो आउँदा टुरिन ट्रेनिङ सेन्टरबाहिर आउँदा केही समर्थकहरू उपस्थित थिए। उनी कारमा एक्लै आएका थिए। लकडाउनका बेला इटालीबाहिर हुने युभेन्टसका केही खेलाडीमध्ये टीममा फर्कने रोनाल्डो पहिलो खेलाडी हुन्।

सबै सिरी ‘ए’ का खेलाडीजस्तै रोनाल्डोको पनि कोरोना भाइरस र अन्य शारीरिक परीक्षण गरिनेछ। युभेन्टसमा ड्यानियल रूगानी, ब्लेइसी मतुइडी र पाउलो डिबालाको कोरोना भाइरस परीक्षण रिपाेर्ट पोजिटिभ देखिएकाे थियो। अहिले सबै ठिक भइसकेका छन्।

लकडाउनअघि रोनाल्डो उच्च लयमा थिए। उनले २२ सिरी ‘ए’ खेलमा २१ गोल गरिसकेका छन्। लिग स्थगन हुनुअघि लगातार ११ खेलमा गोल गरेका रोनाल्डो एक हजार अफिसियल खेल खेल्ने खेलाडी बनेका थिए।

इटलीमा दोस्रो सिजन बताइरहेका रोनाल्डो लगातार दोस्रो पटक सिरी ‘ए’ उपाधि जित्ने लक्ष्यमा छन्। युभेन्टस दोस्रो स्थानको लाजियोभन्दा एक अंकले माथि छ।

च्याम्पियन्स लिगमा युभेन्टसले लियोनविरुद्ध १-० ले पछि परेको स्थिति उल्टाउनु पर्नेछ। युभेन्टस इटालियन कपको सेमिफाइनलमा पुगेको छ। पहिलो लेगमा युभेन्टसले एसी मिलानसँग १–१ को बराबरी खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्