अजमको इमरान खानजस्तै आक्रामक कप्तान बन्ने चाहना

काठमाडौं। पाकिस्तानी क्रिकेट टिमका नयाँ कप्तान बाबर अजमले पूर्वकप्तान इमरान खानको शैली अपनाउने बताएका छन्। इमरान खानको कप्तानीमा पाकिस्तानले १९९२ मा विश्वकपको उपाधि जितेको थियो।

२०१९ को अन्त्यतिर ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट टीमको कप्तानी सम्हालेका अजमले केही दिन अघिमात्र एकदिवसीय टीमको पनि कप्तानको जिम्मेवारी पाएका थिए। उनले आफ्नो लक्ष्य तय गर्ने क्रममा खानको शैली अपनाउने बताएका हुन्। उनले आईसीसी विश्व वरीयताको छैटौं स्थानमा झरेको पाकिस्तानको वरीयता सुधार्ने बताएका छन्।

‘‘मैले यू-१९ र यसअघि ट्वान्टी-२० अन्तर्राष्ट्रिय टीमको पनि कप्तानी सम्हालेको थिएँ’’, सञ्चारकर्मीसँगको अन्तरक्रियामा अजमले भने, ‘‘यस स्वरूपमा विश्व वरीयतामा हामी जुन स्थानमा छौं त्यो हामीलाई स्वीकार छैन। मेरो लक्ष्य भनेको शीर्ष तीनभित्र पर्ने हो। म यस जिम्मेवारीको लागि तयार छु भनेर जिम्मेवारी दिइएको छ। म त्यसका लागि तयार छु।’’

अजमले आफू इमरान खानजस्तै आक्रामक कप्तानको शैली अपनाउन चाहेको बताए। खानकै कप्तानीमा पाकिस्तानले १९९२ मा आईसीसी विश्वकपको उपाधि जितेको थियो।

‘‘टीममा कप्तानकाे जिम्मेवारीमा हुँदा शान्त दिमाले सोच्नु पर्छ। टीमलाई लामो बाटोमा डोहाेर्‍याउनुपर्छ। विपक्षी टीमलाई हराउनका लागि शुत्रवद्ध भएर अघि बढ्नुपर्छ’’, अजमले भने, ‘‘आफूलाई नियन्त्रणमा राख्नुपर्छ। भित्र आफूलाई रिस उठेको हुन सक्छ तर, त्यसलाई बाहिर प्रकट हुन दिनु हुँदैन। यो मैले यू-१९ देखि सिकेको छु।’’

अजम अगाडि भन्छन्- ‘‘मैदानमा उदण्डतालाई कम गर्दै खेलाडीको मनोबल उकास्नुपर्छ। खेलाडीलाई ११० प्रतिशत हौसला प्रदान गर्‍यो भने उनीहरूले राम्रो गर्न सक्छन्। म आक्रामक कप्तान बन्न चाहन्छु। म इमरान खानको शैली अपनाउन चाहन्छु।’’

आईसीसी विश्व वरीयतामा ट्वान्टी-२० क्रिकेटको नम्बर एक ब्याट्सम्यान २५ वर्षे अजमले एकदिवसीय अन्तर्राष्ट्रियमा तेस्रो तथा टेष्ट क्रिकेटमा पाँचौं नम्बरमा ब्याटिङ गर्न आउँछन्। कप्तानीको जिम्मेवारीले आफ्नो प्रदर्शन प्रभावित नहुनेमा अजम विश्वस्त छन्।

‘‘मलाई चुनौतीको सामना गर्न मन पर्छ’’, अजमले भने, ‘‘कप्तानी र ब्याटिङ गर्ने थोरै फरक कुरा हुन्। जब ब्याटिङ गर्न गइन्छ, ब्याटिङमै ध्यान केन्द्रित गर्नुपर्छ, कप्तानीमा होइन। जब ब्याट्सम्यानको जिम्मेवारी पूरा हुन्छ, त्यसपछि टीमको प्रदर्शनमा ध्यान केन्द्रित गर्नुपर्छ। मेरो लक्ष्य कप्तानको रूपमा पनि आफ्नो प्रदर्शनलाई निरन्तरता दिनु हो।’’

प्रतिक्रिया दिनुहोस्