नगरपालिका ‘सिल’ गरेर चन्द्रागिरिमा कोरोना परीक्षण तीव्र

काठमाडाैं। चन्द्रागिरि नगरपालिकाले कोरोना संक्रमितको संख्या बढेसँगै नगरपालिका ‘सिल’ गरेर कोरोना परीक्षणलाई तीव्रता दिएको छ।

काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाभित्र कोरोना संक्रमित देखिएपछि ७ जेठ बिहानसम्मका लागि नगरपालिका सिल गरेर कोरोना परीक्षणलाई तीव्रता दिएको हो।

साे अवधिसम्म विभिन्न जिल्लाबाट चन्द्रागिरिमा आएका कोही पनि व्यक्तिलाई प्रवेश गर्न दिइने छैन भने घरभित्र भएका व्यक्तिलाई घरबाहिर निस्कन बन्देज गरिएको छ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले बन्दाबन्दीको समयमा विभिन्न जिल्लाबाट चन्द्रागिरि आएका व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि नगरपालिका सिल गरेर कोरोना परीक्षणको दायरा बढाइएको जानकारी दिए।

“११ चैतमा देशभर बन्दाबन्दी भएदेखि विभिन्न जिल्लाबाट चन्द्रागिरि आएका एक हजार व्यक्तिको आरडीटी परीक्षण गर्न लागेका छौँ”, उनले भने।

चन्द्रागिरि नगरपालिकाले विभिन्न जिल्लाबाट बन्दाबन्दीको समयमा चन्द्रागिरिमा आएका व्यक्तिको लगत सङ्कलन गरिरहेको छ।

नगरपालिकाले सशस्त्र प्रहरी अस्पताल बलम्बुको सहकार्यमा दैनिक २५ देखि ३० जनाको पीसीआर र आरडीटी परीक्षण गर्दै आएको छ।

हालसम्म नगरपालिकाले ५०० भन्दा धेरै व्यक्तिको पीसीआर र आरडीटी परीक्षण गरिसकेको नगरप्रमुख गिरीको भनाइ छ।

पछिल्लो समय बन्दाबन्दी शुरू भएदेखि बारा, मकवानपुर, धादिङलगायत जिल्लाबाट चन्द्रागिरिमा आएका पाँचजनालाई कोरोना भाइरसको संक्रमण देखिएको थियो।

चन्द्रागिरिले कोरोना भाइरसको जोखिमयुक्त क्षेत्रबाट आएका व्यक्तिलाई प्राथमिकतामा राखेर कोरोना परीक्षण गर्ने भएको छ।

यस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिको समेत कोरोना परीक्षण गरिने नगरपालिकाले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्