कोरोना संक्रमित भेटिएपछि दैलेखकाे आठबीस नगरपालिका ‘सिल’ गर्ने तयारी

दैलेख। कोरोना संक्रमित भेटिएसँगै दैलेखको आठबीस नगरपालिकालाई ‘सिल’ गर्ने तयारी भइरहेको छ।

आठबीस नगरपालिका-१, सात्तलाका ३५ वर्षीय युवामा हिजाे, ५ जेठमा कोरोना संक्रमण देखिएपछि आजदेखि नगरपालिकालाई ‘सिल’ गर्न लागिएको हो।

नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले एक वडादेखि अर्को वडासम्म आवतजावत नहुने गरी नगरपालिकालाई ‘सिल’ गर्ने तयारी भइरहेको बताए।

लकडाउनको ५६ औ‌ं दिनमा कर्णाली प्रदेशमा पहिलो कोरोना संक्रमित दैलेखमा भेटिएका हुन्।

३ जेठमा स्वाब सङ्कलन गरी सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा परीक्षण गर्दा ती युवामा कोरोना संक्रमण देखिएको थियो। थप पुष्टिका लागि बाँकेको भेरी अस्पतालको प्रयोगशालामा स्वाब पठाउँदा पनि उनमा कोरोना पोजिटिभ देखिएको थियो।

भारतको आगरास्थित कोल्ड स्टोरमा काम गर्ने ती व्यक्ति त्यहाँबाट कोल्ड स्टोरको गाडीमा कञ्चनपुरको पश्चिमी भारतीय सीमा नाका वनवासासम्म आएका थिए। वनवासामा ती युवालाई ३५ दिन क्वारेन्टाइनमा राखिएको थियो।

महेन्द्रनगरबाट गाडी रिजर्भ गरेर उद्धार गरी ल्याएका उनीसहित ३९ जनालाई लक्ष्मी माध्यमिक विद्यालय सात्तलाको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष पर्वसिंह विश्वकर्माले बताए।

उनले भने, “यहाँ आउने बेला उनीहरूको आरडीटी परीक्षण गरिएको थियो, त्यसमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो। पछि ३ जेठमा हामीले सबैको स्वाब सङ्कलन गराएर परीक्षण गराउँदा ती युवामा कोरोना पोजिटिभ देखिएको हाे।”

कोरोना संक्रमण भेटिएको थाहा पाएपछि वडा सिल गरिएको वडाध्यक्ष विश्वकर्माले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्