गुल्मीका कोरोना संक्रमितको भैरहवाकै अस्पतालमा उपचार गरिने

काठमाडौं। रूपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमित व्यक्तिको सोही अस्पतालमा उपचार हुने भएको छ।

अस्पतालको आईसीयूमा उपचाररत ती बिरामीलाई तत्काल अन्यत्र नलगी त्यहीं उपचार गराउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।

“हिजो संक्रमण पुष्‍टि भएपछि बुटवलको कोरोना अस्पतालमा लग्‍ने की त्यहीं राख्‍ने भन्‍ने छलफल भएको थियो,” उनले भने, “आईसीयूमै राखेर उपचार भइरहेकाले तत्काललाई त्यहीं राख्‍न लागिएको हो।”

यसैबीच, उनको सम्पर्कमा आएका २५ जनाको आज थ्रोट स्वाबको नमूना संकलन गरेर पीसीआर विधिबाट परीक्षण गरिँदैछ।

“उनको उपचारमा रहेका आईसीयुका चिकित्सक र स्टाफ, राउण्ड लिने चिकित्सक, नर्स, इमर्जेन्सीका स्टाफ र तीनजना कुरुवाको आज नमूना संकलन गरेर परीक्षण हुन्छ,” शाहले भने, “नमूना संकलनका लागि चिकित्सकसहितका स्वास्थ्यकर्मी खटिसकेका छन्।”

उनीहरूको परीक्षण रिपोर्ट आएपछि मात्रै थप मानिसको परीक्षण गर्ने की नगर्ने भन्‍ने निर्णय हुने उनले जानकारी दिए।

उच्च ज्वरो, रुघाखोकीलगायत समस्या देखिएपछि १ जेठमा उनी अस्पताल भर्ना भएका थिए। क्रिमसन अस्पताल हिजो साँझदेखि नै सिल गरिएको छ।

गुल्मी मदाने गाउँपालिका-६ पुर्कोटदहका ४१ वर्षका पुरुषमा हिजो भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्‍टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्