आइपुग्यो सेनाले चीनमा खरिद गरेको स्वास्थ्य सामग्री

काठमाडौं। नेपाली सेनाले चीनबाट खरिद गरेको १९.४५ टन अर्थात् १७ हजार ६ सय ५१ किलो स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत् काठमाडौं ल्याइएको छ।

चीन सरकारसँग सेनाले जीटूजी प्रक्रियामार्फत खरिद गरेको पहिलो लटको सामान लिन हिजो राति वाइडबडी विमान चीनको गोन्जाओ प्रस्थान गरेको थियो।

आज बिहान सामान काठमाडौं आइपुगेको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए। उनका अनुसार विमानमार्फत १८ दशमलव ८४ टन स्वास्थ्य सामग्री ल्याइएको हो।

सेनाले पहिलो लटमा परीक्षण किट, पीपीई, एन-९५ मास्कलगायत अत्यावश्यक सामान ल्याएको छ। स्थलमार्गबाट भने यसअघि नै १० वटा कन्टेनरमा सामान ल्याइसकिएको छ।

हवाइमार्गभन्दा पहिले कन्टेनरबाट सामान नेपाल ल्याइएको हो। सैनिक प्रवक्ता पाण्डेले अर्को चार्टर विमान पनि छिट्टै चीनतर्फ पठाइने बताए।

१६ चैतमा सरकारले ओम्‍नीसँगको सम्झौता खारेज गरेर नेपाली सेनालाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिने निर्णय गरेको थियो। सेनाले चीनसँग २ अर्ब २५ करोड रुपैयाँको सम्झौता गरेको थियो। चीनबाट सेनाले ६७ प्रकारका ३४३ टन स्वास्थ्य सामग्री खरिद गरेको हो।

प्रतिक्रिया दिनुहोस्