प्रिमियर लिगका क्लबहरूले आजदेखि तालिम गर्ने

काठमाडौं। इङ्लिस प्रिमियर लिगका क्लबहरूले आजदेखि स-साना समूहमा एकअर्कालाई नछोई तालिम शुरू गर्ने भएका छन्।

जीपीएस ट्रयाकिङ र भिडियो विश्लेषण प्रविधिहरू यसका लागि प्रयोग हुन सक्नेछन्। क्लबहरूले नयाँ सुरक्षा निर्देशिका पालना गर्नुपर्नेछ।

प्रिमियर लिगका क्लबहरू स्वास्थ्य सुरक्षा निर्देशिका पालना गर्न स्वीकार गरेका छन्। यस्तै, पाँचभन्दा कम खेलाडी एकपटकको तालिममा सहभागी हुनेछन् । उनीहरूको एक सेसन ७५ मिनटभन्दा लामो हुने छैन भने त्यसक्रममा भौतिक दूरी कायम गर्नुपर्नेछ।

‘‘विस्तारै हामीले लिगलाई टुंग्याउने लक्ष्य राखेका छौं। त्यसकारण निरीक्षणका लागि सबै तालिक मैदानमा निरीक्षक राख्‍न सक्छौं,’’ लिग निर्देशक रिचार्ड गार्लिकले भने, ‘‘हामीलाई विश्‍वास दिलाउन निर्देशिका पूर्ण पालना गर्नुपर्छ। हामी स्वतन्त्र निरीक्षण टीम बनाउने योजनामा छौं, जसले हामीलाई जानकारी नदिएर पनि मैदानमा निरीक्षण गर्न सक्नेछन्।’’

सोमबार बसेको क्लबहरूको बैठकमा प्रिमियर लिगका कार्यकारी प्रमुख रिचार्ड मास्टर्सले लिग शुरु गर्ने योजनाअन्तर्गत लिभरपुललाई उपाधि दिने समारोह पनि राखिएको बताएका छन्। उनले भने, ‘‘हामी सुरक्षाका दृष्टिकोणले सम्भव भएसम्म लिग टुंग्याउने प्रयास गर्नेछौं।’’

क्लबहरूले कुन मितिदेखि लिग शुरु गर्ने भन्‍ने निचोड भने निकाल्न सकेका छैनन्। प्रिमियर लिग १२ जुनदेखि शुरु गर्ने योजना छ।

प्रतिक्रिया दिनुहोस्