कोरोना संक्रमण रोक्न आईसीसीको नयाँ नियम : क्रिकेट बलमा थुक प्रयोग गर्न बन्देज

काठमाडौं। खेलाडी तथा म्याच अफिसियलको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को क्रिकेट कमिटीले खेलका केही नियम परिवर्तनका लागि सिफारिस गरेको छ।

अनिल कुम्बले अध्यक्ष रहेको कमिटीको भर्चुअल बैठकले कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि तटस्थ अम्पायर र बलको अवस्थाबारेको नियम परिवर्तन गर्न सुझाएको हो। कमिटीले गरेको सिफारिसलाई जुनमा बस्‍ने कार्यसमिति बैठकले पारित गर्ने अनुमान छ।

म्याच बल

खेलाडीले बल चम्काउन थुकको प्रयोग गर्दा त्यसबाट भाइरस सर्न सक्ने सम्भावनाबारे क्रिकेट कमिटीले आईसीसी मेडिकल सल्लाहकार कमिटीका प्रमुख डा. पिटर हारकोर्टसँग सुझाव मागेको थियो। त्यसपछि बल चम्काउन खेलाडीलाई थुकको प्रयोग गर्न प्रतिबन्ध लगाउने सर्वसम्मत निर्णय गरेको थियो। मेडिकल सल्लाहकारको सुझाव अनुसार पसिनाबाट भाइरस सर्ने सम्भावना नरहेकाले बल चम्काउन पसिना प्रयोग गर्नमा रोक लगाउनु नपर्ने जनाइएको छ।

अन्तर्राष्ट्रिय खेलमा अम्पायर

आईसीसी क्रिकेट कमिटीले तीनै स्वरूपका खेल (टेष्ट, एकदिवसीय र ट्वान्टी-२० अन्तर्राष्ट्रिय) मा म्याच अफिसियलको नियुक्त गर्ने नियम पनि परिवर्तन गर्ने प्रस्ताव गरेको छ।

यसअघि टेष्टमा फोर्थ अम्पायरबाहेक म्याच रेफ्री, दुई फिल्ड अम्पायर र थर्ड अम्पायर आईसीसीका हुने गर्थे । एकदिवसीयमा फोर्थ अम्यायर र एक फिल्ड अम्पायरबाहेक सबै आईसीसीका हुन्थे। त्यस्तै ट्वान्टी-२० मा म्याच रेफ्री आईसीसीका हुन्थे भने अन्य आयोजक देशका हुन्थे।

कोभिड-१९ महामारीका कारण सीमा बन्द, सीमित उडान र अनिवार्य क्‍वारेन्टाइनमा बस्‍नुपर्ने कारण भ्रमणमा समस्या हुने भएकाले क्रिकेट कमिटीले छोटो समयका लागि स्थानीय अफिसियल नियुक्त गर्ने प्रस्ताव गरेको छ।

नियुक्त गर्दा आईसीसीको स्थानीय एलिट र इन्टरनेशनल प्यानलका रेफ्री र अम्पायरबाट तय गरिनेछ। यदि एलिट प्यानलका म्याच अफिसियल नभएमा सबैभन्दा उत्कृष्ट लोकल इन्टरनेशनल प्यानलका म्याच अफिसियल नियुक्त गर्न सकिने प्रस्ताव गरिएको छ।

त्यस्तै कमिटीले अफिसियललाई सहयोगका लागि सबै स्वरूपको क्रिकेटमा प्रविधि थप गर्नुपर्ने र प्रत्येक टीमका डीआरएस रिभ्यू थप गर्नुपर्ने प्रस्ताव गरेको छ।

आईसीसी क्रिकेट कमिटी प्रमुख अनिल कुम्बले भन्छन्, ‘‘हामी अहिले फरक परिस्थितिमा छौं। अन्तरिम समयका लागि क्रिकेटलाई सुरक्षित रूपमा शुरु गर्न तथा खेलमा संलग्‍न सबैको सुरक्षाको प्रत्याभूतिका लागि यस्तो प्रस्ताव गरेका हौं।’’

प्रतिक्रिया दिनुहोस्