स्वाद र गन्ध थाहा नपाउनु पनि कोभिड-१९ को लक्षण भएको पुष्टि

काठमाडौं। बेलायतको जनस्वास्थ विभागले स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ।

हिजो त्यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले आधिकारिक रूपमा सो कुरा बताएको हो। यसअघि यी लक्षणलाई एनएचएसले समावेश गरेको थिएन।

गत महीना यी लक्षण पनि कोरोनासँग सम्बन्धित हुनसक्ने अनुमान मात्रै गरिएको थियो र पुष्टिका लागि थप अनुसन्धान थालिएको थियो ।

बेलायतको स्वास्थ विभागका एक अधिकृत प्रोफेसर जोनाथन भ्यान ट्यामले अनुसन्धानबाट स्वाद र गन्ध थाहा नपाउनु पनि पत्ता लागेको बताए।

कसैमा यी दुई मात्र लक्षण देखिए एक हप्ता घरमा अलग्गै बस्न आग्रह गरिएको छ भने यीबाहेक अन्य पूर्ववत् लक्षणसमेत देखिए १४ दिन अलग्गै बस्न भनिएको छ।

प्रो. ट्यामले कोरोनाको सङ्क्रमणबाट हालै भर्ना भएका करीब ९३ प्रतिशत नयाँ सङ्क्रमितमा यी लक्षण देखिएको बताए।

किङ्स कलेज लण्डनका अनुसन्धानकर्मी प्रो. टिम स्पेक्टरको समूहले गत हप्ता प्रकाशित गरेको अनुसन्धानले यस्तो निष्कर्ष देखाएको हो। रासस

प्रतिक्रिया दिनुहोस्