भेटिएनन नेपालका लागि बेलायतका पूर्वराजदूत, खोजीका लागि प्रहरीको अर्को अपील

काठमाडौं। दुई हप्ताअघि बेपत्ता नेपालका लागि बेलायतका पूर्वराजदूत रिचार्ड मोरिस अझै भेटिएका छैनन्।

६ मेमा आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा बिहान दौडिन निस्किएका मोरिस बेपत्ता भएका थिए। गत हप्ता हेम्पसायर प्रहरी कार्यालयले खोजीका लागि सर्वसाधारणमा अपील जारी गरेको थियो।

हिजो पुनः अर्को अपील जारी गर्दै बेन्ट्ली वरपरका मानिसलाई आ-आफ्नो घर वरिपरिका झाडीमा केही शङ्कास्पद चिज भेटिए खबर गर्न भनिएको छ।

यस्तै उक्त दिन सोही क्षेत्र भई आवतजावत गरेका व्यक्तिको गाडीको ‘डेसक्याप’ पनि हेर्न अनुरोध गरिएको छ । गाडीमा जडित उक्त यन्त्रले बाहिरी वातावरणको दृश्य कैद गर्दछ।

रिचार्डको खोजीका लागि तालिमप्राप्त कुकुरहरू र हेलिकप्टरको पनि प्रयोग गरिएको छ। उनको घर नजिकैको जङ्गलमा प्रहरीको छुट्टै टोलीले खोजतलास तीब्र पारेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ताले प्रेस विज्ञप्ति जारी गरी कूटनीतिक क्षेत्रका एक अब्बल व्यक्ति गुमाएको र उनलाई अझै सकुशल अवस्थामा भेट्टाउने आशा रहेको व्यक्त गरेका छन्।

बेपत्ता रिचार्ड मोरिस नेपालका लागि सन् २०१५ देखि २०१९ सम्म राजदूतका रूपमा कार्यरत थिए। रासस

प्रतिक्रिया दिनुहोस्