धनकुटा अस्पतालका स्वास्थ्यकर्मी र संक्रमित नर्सको सम्पर्कका बिरामीसमेत ८३ जनाको परीक्षण हुँदै

विराटनगर। स्टाफ नर्समा कोभिड-१९ पुष्‍टि भएपछि धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र त्यहाँ आएका बिरामीसमेत गरी ८३ जनाको थ्रोट स्वाब नमूना संकलन गरिएको छ।

हिजै स्वाब संकलन गरेर प्रदेश प्रयोगशालामा पठाइएको र आजसम्ममा रिपोर्ट आइसक्ने जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पूजन विश्‍वकर्माले जानकारी दिएका छन्।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहितको टोली हिजो धनकुटा गएको थियो। मन्त्री घिमिरेले संक्रमितको 'ट्राभल हिस्ट्री' र सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी परीक्षण गर्ने बताएका छन्।

जिल्ला अस्पतालको प्रसूति विभागमा कार्यरत ३४ वर्षीया नर्समा कोरोना संक्रमण फेला परेपछि ४ जेठ साँझदेखि नै अस्पताललाई 'सिल' गरिएको छ।

अस्पताल आएका बिरामीबाटै उनी संक्रमित भएको हुनसक्ने आशंका गरी बिरामीको अभिलेख हेरेर 'कन्ट्याक्ट ट्रेसिङ' थालिएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी जयराम श्रेष्‍ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्