गाउँपालिका उपाध्यक्षले लगाइन् अध्यक्षमाथि अनियमितताको आरोप

दार्चुला। दार्चुलाको मालिकार्जुन गाउँपालिकाकी उपाध्यक्षले गाउँपालिका अध्यक्षविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छन्।

उपाध्यक्ष पुष्पा अवस्थीले अध्यक्ष नरेन्द्रसिंह धामीविरुद्ध आर्थिक अनियमितता तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा मनपरी गरेको भन्दै प्रशासनमा उजुरी दिएकी हुन्।

उनले जिल्ला प्रशासन कार्यालयलाई लिखित उजुरी दिएकी हुन्। अध्यक्षले कर्मचारीलाई एकलौटी चलाउन खोजेको, भ्रष्टाचार गरेको र समन्वय नै नगरेको भन्दै उनले तीन दिनभित्र छलफल गराइदिन प्रशासनलाई अनुरोध गरेकी हुन्।

उनले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, राष्ट्रपतिको मालिकार्जुन मन्दिर भ्रमणका लागि विनियोजन गरिएको रकमभन्दा दोब्बरका बिलहरू बनाएको, कोरोना भाइरसको नियन्त्रणका लागि बैठकबाट विनियोजित र अन्य गरी ६४ लाख बराबरको खर्च बिलहरू सन्तोषजनक नरहेको प्रशासनमा दिएको उजुरीमा उल्लेख गरेकी छन्।

क्वारेन्टाइनमा रहेकाको व्यवस्थापन, दीर्घरोगीलाई औषधि वितरण गर्नेजस्ता काममा समेत पक्षपात गरेको उनको आरोप छ।

कोरोनाको नाममा काम गरेको भन्दै भत्ता खाएको, जिल्लाबाहिर रहेका नागरिकलाई मद्दत गर्न नसकेको, विदेशमा अलपत्र परेकालाई फिर्ता ल्याउन नमानेको आरोपसमेत उनले लगाएकी छन्।

विभिन्न आठ बुँदामा उनले छानबिनको माग गरेकी हुन्। उपाध्यक्षले तीन दिनभित्र छलफल गरी निकास नदिए अध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत र लेखापालको कार्यकक्षमा तालाबन्दी गर्ने चेतावनी दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्