सीमापारि आमाबुबा बितेको खबर, आउन नदिएपछि क्वारेन्टाइनमै किरिया

बैतडी। हिउँदमा मजदुरीका लागि भारत छिरेका बैतडीको सुर्नया गाउँपालिका-३ का राजेन्द्रप्रसाद भट्ट र तारा भट्ट कोरोना भाइरसको त्रास बढेपछि घर फर्कन सीमावर्ती क्षेत्र झुलाघाट आए।

उनीहरू सीमामा आउँदा नेपाल प्रवेश नाका बन्द भइसकेको थियो। त्यसपछि दुवैजना झुलाघाटस्थित जीआईसी क्वारेन्टाइनमा बसे।

स्वदेशको साँधमै अड्किएका दुवैजनाले घरमा फोन गरी पीर नमान्नू भन्दै जानकारी गराएका थिए। घर फर्कने आशामा बसेका दुवैजना अचानक बुबा बितेको खबर पाएपछि बेहोसझैं बने।

बुबाको अन्तिम संस्कारमा जान उनीहरू हारगुहार गरेका थिए। तर, नेपाल प्रवेश गर्न सहज नहुँदा प्रवासको शिविरमै दुवैजना सेतो कपडामा किरियामा बसेका छन्।

बुबाको दाहसंस्कारमा त उपस्थित हुन पाएनन् नै नेपाल प्रवेशको अनुमति नपाएपछि क्वारेन्टाइनमै किरिया बसेका छन्। भट्टद्वयका बुबा देवदत्त भट्टको ३१ वैशाखमा मृत्यु भएकाे थियाे।

यस्तै पुर्चौडी नगरपालिका-७ का ठगी साउँदकी आमा भुरी साउँदको पनि १ जेठमा मृत्यु भएको भए पनि नाका सिल हुँदा उनी झुलाघाटमै किरिया बसेका छन्।

यसका साथै सिगास गाउँपालिका-९ का कृष्णसिंह धामीकी श्रीमती कलावती धामीकाे ३० वैशाखमा मृत्यु भयाे। तर, कृष्ण स्वदेश फर्कन पाएका छैनन्।

स्वदेश फिर्ताका लागि सम्बन्धित सबैलाई आग्रह गरेका उनीहरूले झुलाघाटस्थित जीआईसी क्वारेन्टाइनमा किरिया गरिरहेका भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए।

बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले उनीहरूलाई स्वदेश भित्र्याउन तयार रहेको बताएका छन्।

“नेपाल सरकारबाट किरियापुत्रीको उद्धारका लागि आदेश आएको भए पनि भारतीय पक्षले ढिलाइ गरिरहेको छ”, उनले भने, “हामीले पिथौरागढको डीएमलाई चार दिन अगाडि नै पत्र काटिसकेका छौं, भारतीय पक्ष सहमत भए नाका खोलेर उनीहरूलाई स्वदेश भित्र्याउँछौं।”

यसअघि लकडाउनकै बेला १० वैशाखमा पनि बैतडीका तीन किरियापुत्रीको झुलाघाट नाकाबाट उद्धार गरिएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्