राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई भन्यो- ‘क्वारेन्टाइनहरूलाई मापदण्डअनुरूप सञ्चालन गर्नू’

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले विश्व स्वास्थ संगठन (डब्लूएचओ) को क्वारेन्टाइन व्यवस्थापन मापदण्डअनुसार क्वारेन्टाइनको गुणस्तर कायम गर्न सरकारलाई आग्रह गरेको छ।

आयोगले गरेको अनुगमनमा डब्लूएचओको मापदण्डअनुरूप क्वारेन्टाइनहरूमा पर्याप्त पोषणयुक्त खाना, पिउने पानी, शौचालय, उचित बसोबास, स्वास्थ्य हेरचाहजस्ता आवश्यकताहरू समेतको उचित व्यवस्थापन नभएको पाइएको भन्दै आयोगले त्यसले व्यक्तिका आधारभूत मानव अधिकार सङकुचनमा परेको बताएको छ।

आयोगका प्रवक्तासमेत रहेका सचिव देव भट्टराईले आज एक विज्ञप्ति जारी गरेर क्वारेन्टाइनहरू व्यवस्थित हुन नसक्दा सम्भावित संक्रमितहरू क्वारेन्टाइनमा बस्न नचाहने र बसिरहेकाहरू पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको आँखा छली उम्किने, भाग्ने गर्दा समाजमा संक्रामक रोग अझ बढी फैलिने सम्भावना औंल्याइएको छ।

डब्लूएचओले क्वारेन्टाइनहरूमा उपयुक्त र पर्याप्त खाना, पानी र सरसफाइको प्रबन्ध हुनुपर्ने, संक्रमण रोकथाम तथा नियन्त्रणका न्यूनतम उपायहरूको कार्यान्वयन गर्नुपर्ने, क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको स्वास्थ्य अवस्थाको अनुगमन तथा न्यूनतम आवश्यकता पूर्तिको सुनिश्चितता गर्नुपर्ने, क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई सम्भव भएसम्म पर्याप्तरूपमा हावामा ओहोरदोहोर गर्न सक्ने खालको एकल कोठा उपलब्ध गराउनुपर्ने जस्ता मापदण्ड तोकेको छ।

त्यस्तै डब्लूएचओकै मापदण्डमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरू बीचमा समेत शारीरिक दूरी कायम हुनुपर्ने, क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई क्वारेन्टाइन बाहिर रहेका परिवारका सदस्यहरूसँग कुराकानी र सञ्चार गर्ने प्रबन्ध मिलाउनुपर्ने, यथासम्भव इन्टरनेट, समाचार तथा मनोरञ्जनको व्यवस्था मिलाउनुपर्ने, मनोसामाजिक सहायता उपलब्ध गराउनुपर्ने र बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई विशेष ध्यान दिनुपर्नेलगायतका व्यवस्था हुनुपर्ने व्यवस्था छ।

डब्लूएचओका यी मापदण्ड सरकारलाई स्मरण गराउँदै यी मापदण्डबमोजिम क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका लागू गरी त्यहाँ रहेका व्यक्तिहरूलाई छिटो प्रक्रियाबाट स्वास्थ्य परीक्षण गरी सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न सरकारलाई आग्रह गरेको छ।

‘नेपालमा कोभिड-१९ को कारणबाट मृत्यु हुनेको प्रत्येक परिवारलाई उचित राहत उपलब्ध गराउने व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ’, आयोगको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणमा दिनरात खटिइरहनुभएका चिकित्सक, नर्स, सफाइ कर्मचारीहरू, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन कार्यमा संलग्न स्वयंसेवक तथा सञ्चारकर्मीहरूका परिवारको स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न समेत आयोग ध्यानाकर्षण गराउँदछ।’

प्रतिक्रिया दिनुहोस्