थप ५३ जनामा कोरोना संक्रमण, बाँकेमा मात्र थप ४७ जना थपिए

काठमाडौं। आज एकै दिन बाँके, मोरङ, गुल्मी, धनुषा, दाङ, रौतहट र धादिङका ५३ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा थप ५३ जनामा संक्रमण भएको बताए।

यससँगै संक्रमितको संख्या ३५७ पुगेको छ। आज बाँकेका ४७ जना, मोरङका एक जना, गुल्मीका एक जना, धनुषाका एक जना, रौतहटका १ जना, दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण देखिएको हो।

बाँकेका संक्रमितमध्ये ४६ जना पुरुष र एक महिला छन् । उनीहरुको भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो। अन्यत्रका थप ६ जना संक्रमित सबै पुरूष हुन्।

मोरङको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणबाट मोरङका संक्रमित पत्ता लागेका हुन्। त्यस्तै भैरहवाको प्रयोगशालाबाट गुल्मीका र धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणबाट धनुषा, रौतहट, दाङ र धादिङका संक्रमित पत्ता लागेका हुन्।

संक्रमितमध्ये २९८ जना पुरूष र ५९ जना महिला रहेका छन्। ३६ जना उपचारपश्चात कोरोनामुक्त भएका छन्। नेपालमा कोरोना भाइरसको संक्रमणबाट सिन्धुपाल्चोक र बाँकेमा गरी एक महिला र एक पुरूषको मृत्यु भएको छ।

कर्णाली बाहेकको नेपालका ६ प्रदेशका ३१ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश दुईका सबै जिल्ला र प्रदेश पाँचको तराईमा पर्ने सबै जिल्लाका संक्रमित भेटिएका छन्।

पढ्नुहोस्: बाँकेमा आज एकैदिन ४७ जना कोरोना संक्रमित भेटिए, भयावह बन्दै संक्रमण

प्रतिक्रिया दिनुहोस्