काेराेना संक्रमितकाे मृत्यु भएपछि क्वारेन्टाइनमा रहेकाहरू बस्न मानेनन्, अन्यत्र सारियाे

बाँके। एक युवकको कोरोना संक्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर गाउँपालिका-५ स्थित दीपेन्द्र प्रावि क्वारेन्टाइनमा रहेकाहरूलाई पालको अस्थायी क्वारेन्टाइनमा सारिएको छ।

उक्त क्वारेन्टाइनमा रहेमा २५ वर्षीय युवकको हिजाे, ४ जेठमा मृत्यु भएपछि ३८ जनालाई जयकिसन माविको प्राङ्गणमा पालबाट अस्थायी क्वारेन्टाइन बनाई सारिएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोइन खाँले जानकारी दिए।

उनका अनुसार युवकको मृत्यु भएको दीपेन्द्र प्रावि क्वारेन्टाइनमा बस्न नमानेपछि सबैलाई जय किसान माविमा सारिएको हो।

जयकिसान माविमा यसअघि नै ६० जना रहेकाले दीपेन्द्र प्राविबाट सारिएकालाई प्राङ्गणमा पालको क्वारेन्टाइन बनाएर राखिएको छ।

नरैनापुर-५, मटेहियास्थित नयाँवस्तीका २५ वर्षीय युवकको हिजाे बिहान क्वारेन्टाइनमा निधन भएपछि त्यहाँ रहेकाहरूले आफूलाई अन्यत्र सार्नुपर्ने माग राख्दै आएका थिए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले क्वारेन्टाइनमा हिजाे अचानक भएको निधनपछि क्वारेन्टाइनहरूलाई थप व्यवस्थित गर्दै स्वास्थ्यकर्मी र एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिए।

एक अस्थायी क्वारेन्टाइन थपिएसँगै नरैनापुरका १२ क्वारेन्टाइनमा अझै पनि ७५९ जनालाई राखिएको खरालको भनाइ छ।

सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिण पूर्व राप्तीपारि अवस्थित नरैनापुरमा एकजनाको ज्यान जाने गरी ९ जनामा कोरोना संक्रमण देखिएपछि आवतजावत बन्द गरी संक्रमण न्यूनीकरणका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्