१३ औं सागका ६८ जना प्रशिक्षकको पुरस्कार रकम बैंक खातामा जम्मा

काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले नेपालमा सम्पन्न तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियागितामा पदक विजेता खेलाडी तथा खेलसँग सम्बन्धित प्रशिक्षकले प्राप्त गर्ने पुरस्कार रकम बैंक खातामा जम्मा गरिदिएको छ।

मन्त्रालयले प्रतियोगतामा पदक प्राप्त गर्ने नेपाली खेलाडी तथा खेलसँग सम्बन्धित प्रशिक्षक तथा सहायक प्रशिक्षकहरूलाई एक समारोहबीच पुरस्कार रकम वितरण गर्ने कार्यक्रमको योजना बनाए पनि कोभिड-१९ महामारीका कारण कार्यक्रम आयोजना गर्न सम्भव नभएको जनाएको छ।

मन्त्रालयले खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ अनुसार प्रतियोगितासँग सम्बन्धित ११२ प्रशिक्षक तथा सहायक प्रशिक्षकहरूमध्ये आज ६८ प्रशिक्षक तथा सहायक प्रशिक्षकहरूलाई एक करोड ८६ लाख रूपैयाँ सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गरिएको जनाएको छ।

बाँकी प्रशिक्षकको पेश्की रकम फर्स्योट नभएका कारण रकम रोक्का भएको र अर्को चरणमा जम्मा हुने बताइएको छ।

‘‘बाँकी रहेका प्रशिक्षक तथा सहायक प्रशिक्षक र खेल संघसस्थाको हकमा कार्यविधिअनुसार कुनै पेश्की वा सरकारी दायित्व बाँकी नरहेको व्यहोरा राष्ट्रिय खेलकुद परिषद्बाट लेखी आएपछि रकम भुक्तानी गरिनेछ,’’ युवा तथा खेलकुद मन्त्रालयका सह-सचिव तथा प्रवक्ता मानबहादुर बीकेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसअघि पदक विजेता ४३५ खेलाडीहरूको १९ करोड ५३ लाख रूपैयाँ सम्बन्धित खेलाडीको बैंक खातामा जम्मा गरिएको थियो।

१३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९६ काश्य गरी कुल २०७ पदक जितेको थियो।

प्रतिक्रिया दिनुहोस्