धनकुटाकी स्टाफ नर्समा बिरामीबाट कोरोना संक्रमणको आशंका

काठमाडौं। विराटनगर र धनकुटामा हिजो फेला परेका तीनजना संक्रमितको सम्पर्कमा रहेकाहरूको खोजी थालिएको छ।

धनकुटा अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोभिड-१९ देखिएपछि अस्पताल 'सिल' गरी त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकलाई क्वारेन्टाइनमा राखिएको धनकुटाका सहायक सीडीओ एवं कोभिड-१९ कमाण्ड फोर्सका सूचना अधिकारी जयराम श्रेष्‍ठले जानकारी दिए।

ती नर्सको सम्पर्कमा अस्पताल आएका बिरामीको अभिलेखको आधारमा 'कन्‍ट्याक्ट ट्रेसिङ' शुरू गरिएको श्रेष्‍ठले बताए।

बहिरङ्ग सेवाको इन्चार्ज रहेकी उनी अस्पतालको प्रसूति विभागमा काम गर्थिन्।

'ट्राभल हिस्ट्री' हेर्दा मंसीरदेखि अस्पताल र नजिकैको डेराभन्दा बाहिर नगएकोले अस्पतालमा आएका बिरामीबाटै संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ।

यता हिजै संक्रमण भेटिएका विराटनगर-१५ हडतालीहाट क्षेत्रका ३५ वर्षका पुरुष र विराटनगर-६ का २९ वर्षीया महिलाको पनि 'ट्राभल हिस्ट्री' र सम्पर्कमा रहेका व्यक्तिहरूको खोजिका लागि टोली खटिएको प्रदेश १ कोभिड-१९ अनुगमन तथा प्रतिवेदन सचिवालय संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिए।

"सबैजनाको अनुसन्धानमूलक प्रतिवेदन तयार गरी। परीक्षण तथा उपचारको रणनीति बनाउँछौं", बस्‍नेतले भने।

पुरुष विराटनगर महानगरपालिकाका सफाइ कर्मचारी र महिला माछा व्यापारी रहेको बताइएको छ।

महिला भने केही दिन अगाडि भारतबाट आएकी हुन्।

प्रतिक्रिया दिनुहोस्