६ दिनअघि भारतबाट आएका थिए रौतहटका सातजना संक्रमित

काठमाडौं। रौतहटको इशनाथ नगरपालिकामा संक्रमित भेटिएका सातजना ६ दिनअघि मात्रै भारतबाट आएको खुलेको छ।

उनीहरू भारतको दिल्ली र कानपुरबाट आएको इशनाथ नगरपालिकाका मेयर सन्तोषकुमार मेहताले जानकारी दिए। उनका अनुसार उनीहरूलाई सीमाबाट सोझै क्‍वारेन्टाइन पुर्‍याएर राखिएको थियो।

उनीहरूलाई इशनाथ नगरपालिका ३ अरैयास्थित क्‍वारेन्टाइनमा राखिएको थियो । त्यस क्‍वारेन्टाइनमा रहेकामध्ये २७ जनाको चार दिनअघि नमूना संकलन गरिएको थियो। तीमध्ये सातजनामा आज संक्रमण देखिएको हो।

राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा इशनाथ-२, ३, ६, र ९ नम्बर वडाका २१ वर्षका दुईजना, २५ वर्षका दुईजना, २३, २९ र ३० वर्षका पुरुषमा संक्रमण पुष्‍टि भएको हो।

इशनाथ नगरपालिकाका पाँच स्थानमा बनाइएका क्‍वारेन्टाइनमा अहिले दुई सय ५० जनालाई क्‍वारेन्टाइनमा राखिएको मेहताले जानकारी दिए। संक्रमित देखिएकामध्ये तीन जनालाई गएराति नै गौर अस्पतालको आइसोलेसनमा राखिएको र अन्यलाई कहाँको अस्पतालमा लैजाने भन्‍ने छलफल भइरहेको उनले बताए ।

यस्तै रौतहटकै माधवनारायण नगरपालिका २ की २८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्‍टि भएको हो।

माधवनारायण नगरपालिकाका मेयर वीरेन्द्रप्रसाद यादवले क्‍वारेन्टाइनमा रहेकी महिलामा संक्रमण देखिएको बताए। १३ जनाको स्वाबको नमूना संकलन गरेर पठाएकोमध्ये १२ जनामा नेगेटिभ र एकजनामा पोजिटिभ आएको उनले जानकारी दिए।

ती महिलालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको छ। महिलाका श्रीमान् लुकिछिपी भारतबाट आएको खुलेको मेयर यादवले बताए। तर उनका श्रीमान् भने अहिले गाउँमा नरहेको उनले जानकारी दिए। श्रीमानबाटै ती महिलामा संक्रमण भएको हुन सक्ने उनले बताए। माधवनारायण नगरपालिकामा २६ जना अहिले क्‍वारेन्टाइनमा छन्। रौतहटमा आज पुष्‍टि भएकासँगै संक्रमितको संख्या २१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्