महामारीका बेला राजनीतिक लाभहानी गणना गर्दै ट्रम्प: ग्लोबल टाइम्स

बेइजिङ। विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अदानम गेब्रेयसेसलाई पठाइएको एक पत्रमा अमेरिका चीनको बराबर आर्थिक योगदान गर्न तयार देखिएको छ।

यसअघि अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओलाई दिइँदै आएको सबै सहायता बन्‍न गरिने बताएका थिए। अहिले फेरि चीनको बराबरको योगदान गर्न तयार देखिएको हो।

यसबाट अमेरिकाले आफूलाई ‘ग्लोबल लिडर’का रूपमा देख्न छाडेको महशुस हुने चिनियाँ अखबार ग्लोबल टाइम्सको विश्लेषण छ। “यो अमेरिकाको कन्जुस व्यवहार हो,” ग्लोबल टाइम्सले लेखेको छ, “कोभिड-१९ को महामारी नियन्त्रणका लागि संसारलाई डब्लूएचओको आवश्यकता छ तर यही बेला उसलाई दिइँदै आएको सहायता रोक्नु डरलाग्दो कुरा हो।”

डब्लूएचओका सदस्य मुलुकहरूले आ-आफ्नो सम्पत्ति र जनसंख्याका आधारमा सहायता दिँदै आएका छन्। विश्‍व बैंकको सन् २०१८ को तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)का आधारमा अमेरिका १० नम्बरमा छ भने चीन ७२ नम्बरमा।

यस हिसाबबाट अमेरिकाको आर्थिक सामथ्र्यमा फराकिलो अन्तर छ। त्यसका बावजुद ट्रम्पले अमेरिकी अर्थतन्त्रलाई चीनसँग तुलना गर्दै आएका छन्। र, डब्लूएचओबाट चीनले लाभ लिइरहेको दाबी गर्दै आएका छन्।

हिजो मात्र ट्रम्पले ट्विटमार्फत चीनको जनसंख्या अमेरिकाको भन्दा ठूलो रहेको बताएका थिए। सोही कारण डब्लूएचओलाई दिइँदै आएको सहायता घटाइएको उनको दाबी थियो।

विश्‍व व्यापार संगठन (डब्लूटीओ)का महानिर्देशक गत बिहीबार भनेका थिए, “यदि मैले राजिनामा दिने हो भने ट्रम्पले ठीक गर्नुभयो भन्‍ने छन्। थप्नेछन्, किनकि अमेरिकाले डब्लूटीओबाट चीनको जस्तो लाभ पाएको छैन।”

राष्‍ट्रपति ट्रम्प निरन्तर गणना गरिरहेका छन् र त्यो भिन्‍न-भिन्‍न पहलुमा देखिने गरेको छ। जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता त्यसको उदाहरण हो। ‘अनुचित आर्थिक बोझ’ भएको बताउँदै उनी सम्झौताबाट बाहिरिए, जसले जलवायु परिवर्तनको जोखिमविरुद्ध लड्न विश्‍वलाई नराम्रो धक्का दिएको छ।

कोभिड-१९ महामारीलाई लिएर अमेरिकाको गलत नीतिले संसारलाई स्तब्ध बनाएको छ।

कतिसम्म भने पूर्वराष्‍ट्रपति बाराक ओबामा पनि मौनता तोड्न बाध्य भए। र, शनिबार ट्रम्प प्रशासनको आलोचना गर्दै भने, “कतिपय मानिस ढोंग पनि गरिरहेका छैनन्। र, आफ्नो निहित फाइदाका लागि अन्य मुलुकको हितलाई अवहेलना गरिरहेका छन्। र, अन्तर्राष्‍ट्रिय व्यवस्थालाई कमजोर बनाइरहेका छन्।”

डब्लूएचओ र डब्लूटीओजस्ता अन्तर्राष्‍ट्रिय संस्थाहरूमा लामो समयदेखि नेतृत्वदायी भूमिकामा रहेको अमेरिकाले यसबीचमा प्रशस्त फाइदा पनि लिएको छ। तर, संकटको समयमा अमेरिका पैसा-पैसाको हिसाब गरिरहेको छ।

आफ्नो संकीर्ण राजनीतिक हितका लागि अन्तर्राष्‍ट्रिय संगठनहरूलाई ट्रम्पले राजनीतिकरण गरिरहेका छन्। ट्रम्प प्रशासनको लक्ष्‍य नै हो, अमेरिका फस्ट। र, अन्त्यमा अमेरिकालाई नै आइसोलेसनमा पार्ने निश्चित छ।

प्रतिक्रिया दिनुहोस्