बुन्डेसलिगा पुनरागमनमा साविक विजेता बायर्न म्युनिखको सहज जित

काठमाडौं। जर्मन बुन्डेसलिगा पुनरागमनमा साविक विजेता बायर्न म्युनिखले आइतबार राती ढिला गरी भएको खेलमा युनियन बर्लिनमाथि २-० को सहज नतिजा निकाल्दै विजयी शुरूआत गरेको छ।

युनियन बर्लिनको खाली रंगशालामा खेलाडीको आवाज मात्र प्रतिध्वनी भएको थियो। अवे मैदानमा हासिल गरेको जितसँगै बायर्न लगातार आठौं पटक उपाधि जित्ने लक्ष्य नजिक पुगेको छ।

महामारीका कारण दुई महीना स्थगनपछि शुरू भएको खेलमा यस साता कुनै ठूला घटना नभएपछि बायर्नका अध्यक्ष कार्ल हेइन्ज रुम्मेलिग आशावादी देखिएका छन्।

‘‘यसको महत्वपुर्ण पक्ष हामी सन्तुष्ट भएका छौं। तर अझै सबै कुरा सहज भइसकेको छैन,’’ रुम्मेलिगले भने, ‘‘जर्मन राजनीतिज्ञहरूलाई विश्वासमा राख्न फुटबल अनुशासित हुनुपर्छ। यसले अन्य देशका लिगलाई पनि सरकारले संचालन गर्न दिने आशा दिलाउँछ।’’

यस साता भएका सबै खेलमा बुन्डेसलिगाका खेलाडीले मैदान हुदाँबाहेक सबै समय मास्क लगाए। बैकिल्पिक खेलाडीले सामाजिक दूरी कायम गरेर बसे। रंगशाला बाहिर भीड जम्मा हुन नदिन पुलिस तैनाथ थिए।

बायर्नका गोलकिपर म्यानुयल न्युयरले दर्शक विनाको खाली रंगशालामा खेल्दा लामो समय खेलेजस्तो अनुभव भएको भन्दै उत्प्रेरणा र मनोवृत्तिको प्रश्न भएको बताए। उनले भने, ‘‘समर्थक नहुँदा एक मिनेट पनि धेरै लामो लाग्यो।’’

बायर्नकै मिडफिल्डर थोमस मुलरले दर्शक नहुदा आफ्नो टीमलाई थोरै भए पनि फाइदा भएको बताए। उनले युनियन बर्लिनले दर्शक नहुदा घरेलु मैदानको पर्याप्त फाइदा लिन नसकेको बताए।

यस साता बुन्डेसलिगामा भएका आठ खेलमध्ये घरेलु मैदानमा एक टीमले मात्र जित निकाल्न सफल भएको थियो। ३ जेठमा सम्पन्न खेलमा बोरुसिया डर्टमण्डले साल्केलाई ४-० ले हराएको थियो।

रोबर्ट लेवन्डस्कीले ४०औं मिनेटमा गरेको पेनाल्टी गोलमा बायर्नले अग्रता लिएको थियो। जारी सिजन सबै खालको प्रतियोगितामा गरी लेवन्डस्कीको यो ४०औं गोल हो।

दोस्रो हाफमा युनियनले सुधारिएको प्रदर्शन गरे पनि बेन्जामिन पाभार्डले खेल सकिन दश मिनेट बाँकी हुँदा अर्को गोल थपे घरेलु टीमको अंक लिने सपना पूरा भएन।

युनियन बर्लिन मुख्य प्रक्षिक युरस फिस्चरको उपस्थिती विना खेलेको थियो। फिस्चर ससुराको निधनका कारण परिवारसँग थिए। युनियन बर्लिनले फिस्चरले अब दुई पटक कोभिड-१९ परीक्षण नेगेटिभ आएपछि मात्र टीममा सामेल हुने जनाएको छ।

जितसँगै बायर्नले शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ। लिगमा अब आठ खेल बाँकी रहँदा बायर्नले २६ मेमा दोस्रो स्थानको डर्टमण्डको भ्रमण गर्नेछ। उक्त खलको नतिजाले यस सिजनको उपाधि टुंगो लगाउने सम्भावना छ।

कोलन एफसीले दुई शून्यको अग्रता जोगाउन नसक्दा आइतबार जर्मन बुन्डेसलिगामा मेइन्ज ०५ सँग २-२ को बराबरीमा चित्त बुझाएको छ। कोलनले रंगशालामा एक हजार कृतिम दर्शकको ‘डमी’ बनाएर राखेको थियो।

प्रतिक्रिया दिनुहोस्