कोभिड-१९: स्पेन र इटलीलाई पछाडि पार्यो ब्राजिलले

ब्रासिलिया । दक्षिण अमेरिकी मुलुक ब्राजिलले कोरोना भाइरस संक्रमितको संख्यामा स्पेन र इटलीलाई पनि पछाडि पारेको छ ।

संक्रमण अत्यधिक रहने मुलुकमा ब्राजिल चौथो स्थानमा पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार नौ सय १९ बिरामी थपिएको अधिकारीहरूले जनाएका छन् ।

बीबीसीका अनुसार त्यससँगै ब्राजिलमा कुल संक्रमित दुई लाख ३३ हजार एक सय ४२ जना पुगेका छन् । अमेरिका, रुस र बेलायतमा ब्राजिलमा भन्दा बढी संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा आठ सय १६ जनाले ज्यान गुमाए । त्यससँगै हालसम्म १५ हजार ६ सय ३३ जनाले ज्यान गुमाएका छन् ।

विशेषज्ञहरूले परीक्षणको दायरा विस्तार गर्दा संक्रमितको संख्या अझ बढ्ने बताएका छन् । अस्पतालमा पुगेका मानिसको मात्र ब्राजिलमा कोभिड-१९ परीक्षण भइरहेको छ ।

ब्राजिलको सबैभन्दा ठूलो शहर साओपाउलोका मेयरले देशको स्वास्थ्य व्यवस्था नै लडखडाउने अवस्थामा पुगेको बताएका छन् । उनका अनुसार कोभिड-१९ का बिरामीबाट देशभरका अस्पताल ९० प्रतिशत भरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्