लकडाउनमा बढ्दै पेटका रोगी, यस्ता छन् जोगिने उपाय (भिडिओसहित)

काठमाडौं। जताततै अहिले कोरोना संक्रमणको सन्त्रास छ। यही सन्त्राससँगै लकडाउनका कारण मानिसहरू घरमै बस्न बाध्य छन्। दैनिक ज्यालादारीमा आश्रितहरूका लागि जीवन कठिन बनिरहेको छ।

तर, केही बचत हुने मध्यमवर्गका लागि समय त्यति कठिन बनिरहेको छैन। घरमै बस्ने, सक्दो मिठो खाने र परिवारसँग रमाइलो गर्ने गरेरै बितिरहेको छ उनीहरूको दिनचर्या। यस्तो दिनचर्याले पेटका रोगी पनि बढिरहेको चिकित्सकहरू बताउँछन्।

काठमाडौंको कलंकीस्थित ‘नेपाल नेशनल हस्पिटल’का फिजिसियन तथा वरिष्ठ छाती रोग विशेषज्ञ डा. प्रकाश पौडेलले लकडाउनमा मात्रै अहिलेसम्म ६० जना पेटका बिरामीले परामर्श लिएको बताए।

“लकडाउन अवधिभर मात्र पेटमा जटिल समस्या भएका बिरामीको अप्रेसन र जाँच त ३० भन्दा बढी म आफैले गरेको छु, जटिल खालका बिरामी अस्पताल आएका छन्”, पौडेलले भने।

जटिल खालको समस्या नभएका बिरामीले भने अस्पतालले व्यवस्था गरेको हटलाईन नम्बरमा सम्पर्क गर्छन्। अहिले दैनिक ६÷७ जना त्यस्ता बिरामीले सम्पर्क गरेर सल्लाह लिइरहेको डा. पौडेल बताउँछन्।

पहिले सामान्य लक्षण देखिनासाथ अस्पताल पुग्ने बिरामी लकडाउनका कारण सहज ढंगले अस्पताल जान पाएका छैनन्। कोरोना भाइरसबाट संक्रमित भइहालिने हो कि भन्ने डरले बिरामी अस्पताल नआएको उनको भनाइ छ।

पौडेलले भने, “लकडाउन हुनुभन्दा पहिले त सामान्य बिरामी पनि चेकजाँच गराउन अस्पताल आइपुग्थे, अहिले लकडाउनको बेला भएकाले घरबाटै चिकित्सकहरूसँग परामर्श लिइरहेका छन्।”

ग्यास्ट्रोलोजिस्ट डा. ए.के. कश्यपले पनि लकडाउन अवधिभरमा भाइबर, ह्वाट्सएप र टेलिफोनबाट करीव ५०० जति पेटका बिरामीले आफूसँग परामर्श लिएको बताए। उनले देखापढीसँग भने, “लकडाउनमा धेरै बिरामी अस्पताल जाँदैनन्, टेलिफोनबाटै परामर्श लिने ह्वात्तै बढेका छन्।”

लकडाउनका बेला भड्किलो खानपिनले गर्दा शुरूआती चरणमा अपच, ग्यास्ट्राइटिस, मोटोपन, शरीरमा बोसो बढ्ने जस्ता समस्या आएको उनले बताए। यी समस्या समयमै निराकरण नभए दीर्घकालिन रुपमा पेट सम्बन्धी झनै ठूलो समस्या हुनेबारे डा. कश्यपले सचेत बनाए।

उनका अनुसार नियमित व्यायाम नहुने तर खानपान भइरहँदा र शरीरमा सोडियम पोटासियम तथा क्याल्सियमको सन्तुलन नमिल्दा कहिलेकाहीँ पेट दुख्ने, मासु बाउँडिने जस्ता लक्षणहरू देखिन सक्छन्।

अझ कतिपयले त लकडाउनका बेला पनि मद्यपान सेवन गर्न छाडेका छैनन्। यसले पेटसम्बन्धी झनै ठूलो रोग निम्त्याउने डा. पौडेल बताउँछन्।

“मादक पदार्थको सेवनले शरीरमा कोलस्ट्रोल, सुगर र ब्लड प्रेसर बढाउँछ”, उनी भन्छन्, “यसबाट जोगिन मादक पदार्थको सेवन लकडाउनका बेला नगरेको नै राम्रो हुन्छ, किनभने नियमित शारीरिक व्यायाम पनि भइराखेको हुँदैन।”

उनले नियमित व्यायाम नगर्दा मुटुमा पनि समस्या उत्पन्न हुने चिन्ता व्यक्त गरे। दीर्घरोगीले त यस्तो बेलामा पहिले भन्दा धेरै सजगता अपनाउनुपर्ने उनी बताउँछन्।

अझै कतिपय बिरामीले त सामान्य लक्षण भन्दै औषधि खाएर बसिरहेका छन्। लकडाउन कहिले खुल्छ र अस्पताल जाने पर्खाईमा छन्, बिरामी।

रोगको उपचार गर्न लकडाउन खुलेपछि मात्र अस्पताल जान्छु भनेर बस्दा झनै जोखिम हुनसक्ने उनले बताए।

यसरी जोगिन सकिन्छ पेट सम्बन्धी रोगबाट

लकडाउनका बेला केही उपाय अपनाए पेटसम्बन्धी जटिल रोग लाग्नबाट बच्न सकिने डा. पौडेलले सुझाए। उनका सुझाव यस्ता छन्ः

भड्किलो खानपिन नगर्ने

लकडाउनमा मिठो मिठो खानेकुराको परिकार बनाएर खाने गरिन्छ। यस्ता खानामा बढी मसालेदार र चिल्लो बढी हुन्छ। यसले अपच हुने, ग्यास्ट्राइटिस र मोटोपन ल्याउने समस्या निम्तिन्छ। त्यसकारण भड्किलो खानपिनबाट बच्नुपर्छ।

मद्यपान नगर्ने

रक्सी सेवनले कोरोना भाइरस मर्छ भन्ने भ्रम पनि फैलिएको छ। यो गलत कुरा हो। यसले भाइरस मर्नुभन्दा पनि अर्को रोग ल्याउने जोखिम हुन्छ। मादक पदार्थको सेवनले शरीरमा कोलस्ट्रोल, सुगर र रक्तचाप बढाउँछ। त्यसकारण मादक पदार्थ सेवन गर्नुहुँदैन।

घरमै नियमित योगाभ्यास वा व्यायाम गर्ने

नियमित व्यायाम गर्नाले शरीरमा फूर्तिलोपन ल्याउँछ। मुटुको रोग उत्पन्न हुने जोखिम कम हुन्छ। खाना पचाउन मद्दत पुर्‍याउँछ।

पर्याप्त पानी पिउने

पर्याप्त पानी पिउँदा डिहाइड्रेसनबाट बच्न सकिन्छ। शरीरलाई सक्रिय बनाइरहन बल पुर्‍याउँछ। रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

बिरामीले औषधि नछुटाउने

नियमित औषधि सेवन गर्ने पेट सम्बन्धी बिरामीले औषधि लिन छोड्नु हुँदैन। औषधि सेवन नगर्दा थप जोखिम निम्तिनसक्छ।

चिकित्सकको परामर्श लिइराख्ने

दीर्घरोगीहरू त अस्पतालसम्म पुग्नैपर्छ। चेकजाँच गराउन अस्पताल जाँदा राम्रो हुन्छ। सामान्य लक्षण देखिएका बिरामीले चिकित्सकसँग नियमित परामर्श गर्नुपर्छ। चिकित्सकले भने अनुसार समय समयमा औषधि लिने गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्