काेराेना संक्रमितकाे अन्त्येष्टिपछि पशुपतिको किरियापुत्री भवन र विद्युतीय शवदाह गृह बन्द

काठमाडौं। पशुपतिनाथ मन्दिर क्षेत्रमा रहेको किरियापुत्री भवन र विद्युतीय शवदाह गृह बन्द गरिएको छ।

३ जेठमा सिन्धुपाल्चोककी कोरोना संक्रमित महिलाको निधनपछि उनकाे शव विद्युतीय शवदाह गृहमार्फत् अन्त्येष्टि गरिएको थियो।

अन्त्येष्टि कार्यमा संलग्न कर्मचारी क्वारेन्टाइनमा बसेका र शवदाह गृह क्षेत्रमा नर्मलीकरण गर्नुपर्ने भएकाले केही दिनका लागि बन्द गरिएको पशुपति विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए।

कोरोना संक्रमित महिलाको मृत्यु भएपछि विद्युतीय शवदाह गृहबाट अन्त्येष्टि गरिएकाे थियाे। “त्यसपछि मेसिनलाई स्यानिटाइज गर्नका लागि शव जलाउन रोकेका छौं। कर्मचारी पनि क्वारेन्टाइनमा छन्। केही दिनपछि पुनः सञ्चालनमा ल्याउँछौं”, सदस्य सचिव ढकालले भने।

त्यस्तै कोरोना भाइरस संक्रमणको जोखिमसँगै किरियापुत्री भवनमा भीडभाड हुन थालेपछि त्यसलाई पनि एक साताका लागि बन्द गराइएको उनको भनाइ छ।

अहिले किरियामा बसिरहेका मानिसहरूबाहेक नयाँ किरिया पशुपतिमा नबस्ने गरी बन्द गरिएको ढकालले बताए।

किरियापुत्री भवनका सम्पूर्ण कोठाहरू भाइरसरहित बनाउनुपर्ने भएका कारण एक साताका लागि किरिया बस्न रोक लगाइएको हो।

“नियमित प्रयोगमा आइरहेका कोठाहरू आइसोलेसन गर्नुपर्छ। सोहीकारण पूर्णतया सरसफाइ गर्नका लागि नयाँ किरियापुत्रीलाई तत्काल नराख्ने निर्णय भएको हो”, उनले भने।

पशुपति आर्यघाटमा भने निर्वाधरूपमा शव जलाउने काम भइरहेको उनको भनाइ छ। कर्मचारीदेखि लिएर अन्त्येष्टिका आउनेहरूलाई समेत स्वास्थ्य सुरक्षाको प्रत्याभूति गराएर मात्र काम भरहेको सदस्य सचिव ढकालले बताए।

प्रतिक्रिया दिनुहोस्