गायक प्रकाश सपुत भन्छन्- ‘कोरोनाले पुरानै धरातलमा फर्काइदियाे’

काठमाडौं। गत ११ चैतबाट शुरू भएकाे लकडाउनका कारण सबै क्षेत्रमा असर परेको छ।

आफ्नो दैनिक गुजारा गर्दै आएकादेखि दैनिक लाखौं कमाउँदै आएकाहरू पनि यतिबेला घरभित्र सीमित हुनु परेको छ।

रातदिन नभनेर मिहिनेत गर्दै अगडि बढिरहेकाहरू यतिबेला तनावमा छन्।

गायक प्रकाश सपुत पनि यतिबेला आफ्नै घर स्याङ्जामा छन्। घरायसी काममा व्यस्त रहेका उनले अगाडि बढ्दै गइरहेका पाइलालाई कोरोनाले पुरानै धरातलमा फर्काइदिएको बताएका छन्।

लकडाउनका कारण आफू को हुँ ? र पेशा के हो ? भन्ने कुरासमेत बिर्सिएजस्तो भएको उनकाे भनाइ छ।

सामाजिक सञ्जाल फेसबुकमा कोरोनाले आफ्नो विगतकै हैसियतमा पुर्‍याएको भन्दै लेखेका छन्, “यो बीचमा म को हुँ र मेरो पेशा के हो भन्ने पनि घरीघरी बिर्सेजस्तो भएको छ। पछिल्लो दुई वर्ष मैले जुन जीवन जिएँ, जुन उपलब्धि हासिल गरेँ यो सधैँ यस्तै रहन्छ भन्ने भ्रम र घमण्ड कोरोनाले नराम्रोसँग चिरिदिएको छ। म पुनः त्यही धरातलमा फर्किएको छु जहाँबाट केही उचाइमा पुगेरै छाड्ने अठोटसहित हिँडेको थिएँ।”

यो परस्थितिलाई सहजै स्वीकार गरेर पहिलाकै जसरी बाँचिरहेको उनले उल्लेख गरेका छन्।

लकडाउनका बेला घरमै रहेका प्रकाशसँग स्थानीय प्रहरीले भेट गर्दै तस्बिरसमेत खिचाएका थिए। आफूलाई भेट्न घरमै आएका सुरक्षाकर्मीले गर्दा आफ्नो व्यस्त जीवनशैली याद आएको भन्दै उनले कोरोना महामारीका बेला खटिने सबैलाई धन्यवाद दिए।

प्रतिक्रिया दिनुहोस्