गाेरखामा तीन दिनमा दुई चितुवा मृत भेटिए
गाेरखा। गोरखाको पालुङटार नगरपालिका-९, घडेरीखोलास्थित मानव वस्तीभित्र आज एउटा चितुवा मृत भेटिएको छ।
शरीरमा कतै पनि चोटपटक नलागेको अवस्थामा वयस्क पोथी चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए।
“चितुवा मृत फेला परेको ठाउँमा वरपर चितुवाले दिसा र वान्ता गरेको समेत पाइएको छ”, उनले भने, “शरीरमा कतै पनि चोटपटक देखिएको छैन।”
घटनाकाे प्रकृति हेर्दा बिष खुवाएर मारेको हुन सक्ने आशंका वन कार्यालयले गरेको छ। उक्त मृत चितुवा घडेरीखोलाको वस्ती बीचमा रहेको एउटा घरभित्र फेला परेको उनले बताए।
स्थानीयवासीले वयस्क चितुवा मर्न लागेको अवस्थामा भेटिएको भनेर जानकारी गराएपछि तत्काल उद्धारका लागि वन कार्यालयबाट टोली पुग्दा चितुवा मरिसकेको पाइएको प्रमुख पौड्यालको भनाइ छ।
उनले मृत चितुवाको परीक्षणका लागि चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा लैजाने तयारी भएको बताए।
“परीक्षणपछि कालगतिले मरेको हो वा होइन भन्ने पुष्टि हुन्छ”, उनले भने।
यसअघि गएको २ वैशाखमा पनि जिल्लाको पालुङटार नगरपालिका-२, जामुनेस्थित जङ्गलछेउमा एउटा चितुवा मृतावस्थामा फेला परेको थियो।
साे  चितुवा भने कालगतिले मरेको पाइएको उनको भनाइ छ। जिल्लामा गएको तीन दिनभित्रमा दुई चितुवा मृत फेला परिसकेका छन्। रासस
प्रतिक्रिया दिनुहोस्