अलपत्र परे स्वदेश फर्कने आशामा सीमासम्म आइपुगेका नेपाली

कैलाली। लकडाउनका कारण कैलालीको सीमासँग जोडिएको भारतको पलिया क्वारेन्टाइनमा रहेका नेपालीहरूलाई जिल्ला प्रशासन कार्यालय कैलालीले ९ र १० जेठमा गौरीफन्टा नाका भएर धनगढी भित्र्यायाे। यही खबर पाएर आज पनि थुप्रै नेपालीहरू सीमामा पुगेका छन्।

प्रशासनले उद्धार गरेपछि नेपाल जान पाइने आशामा गौरीफन्टा नाकामा नेपाली मजदुरहरू जम्मा हुने क्रम बढेको छ।

आज भारतका विभिन्न शहरबाट आएका करीब १०० जना नेपाली दशगजा क्षेत्रमै रोकिएका छन्। उनीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालमा प्रवेश गर्न नदिएपछि उनीहरू सीमामै अलपत्र परेका छन्।

जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भारतमा क्वारेन्टाइनमा रहेका नेपालीहरूलाई नेपाल आउन दिए पनि त्यसपछि आउनेलाई भने नेपाल आउन दिने विषयमा कुनै निर्णय नभएको बताए। उनले त्यसरी सीमामा आइपुगेका नेपालीहरूलाई भारतमै क्वारेन्टाइनमा राखिने बताए।

सीमामा पुगेका नेपालीहरूलाई भारतीय समकक्षीहरूसँगको छलफलबाट पलियामा रहेको क्वारेन्टाइनमा लैजाने तयारी भइरहेको जोशीले बताए। उनका अनुसार हिजाे र अस्ति गरी भारतबाट ७५८ जना नेपालीलाई ल्याइएको थियाे भने ९५० जना भारतीय मजदुरलाई भारत पठाइएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्