स्पेनिस क्लबले समूहमा अभ्यास गर्न पाउने

काठमाडौं। कोभिड-१९ महामारीका कारण स्पेनको केही भागमा अझै कडा लकडाउन भए पनि स्पेनिस लिगका सबै क्लबहरूले यो साताबाट सामूहिक ट्रेनिङ गर्न पाउने भएका छन्।

देशका अन्य भागमा जस्तो मड्रिड र बार्सिलोनामा लकडाउन खुकुलो गरिएको छैन। तर, रियाल मड्रिड र बार्सिलोना क्लबले पनि दोस्रो चरणको सामूहिक अभ्यास गर्ने तयारी थालेका छन्।

स्पेनिस लिगले भाेलिबाट सानो-सानो समूहमा खेलाडीले प्रशिक्षण गर्न सक्ने बताएको छ। अहिलेसम्म खेलाडीलाई व्यक्तिगत ट्रेनिङ मात्र गर्न अनुमति थियो।

महामारीका कारण स्पेन सरकारले मार्चको मध्यबाट लागू गरेको लकडाउन विस्तारै खुकुलो बनाउँदै लगेको छ। तथापि सरकारले अपवादमा छुट दिइएको होइन भने रियाल मड्रिड र बार्सिलोनालाई समूहमा प्रशिक्षण गर्न छुट हुने छैन।

क्लबहरूले अब एक सेसनमा १० खेलाडीले सँगै प्रशिक्षण गर्न पाउनेछन्। जोखिम कम भएको स्थानको क्लबहरूमा भने १४ खेलाडीले प्रशिक्षण गर्न पाउनेछन्।

लकडाउन खुकुलो भएको क्षेत्रका क्लबहरूले आफ्नो क्षमताको ५० प्रतिशत सुविधा उपयोग गर्न पाउनेछन् भने अन्यले ३० प्रतिशतमात्र सुविधा प्रयोग गर्न पाउनेछन्।

सामाजिक दूरीको नियम पालना गरी खेलाडी र प्रशिक्षक टीमबीच हुने सामूहिक बैठक गर्न पनि छुट दिइने भएको छ। रेफ्रीहरूलाई पनि खेल सुविधामा ट्रेनिङ गर्न दिइने भएको छ।

अर्को चरणमा भने पूर्ण टीमलाई प्रशिक्षण गर्न दिइनेछ।

ट्रेनिङको अवधिमा सबै खेलाडी तथा प्रशिक्षकलाई स्वास्थ्य सुरक्षको मार्गनिर्देशनको कडाइका साथ पालना गर्न भनिएको छ। प्रशिक्षणमा खेलाडी, प्रशिक्षक तथा क्लबका अन्य कर्मचारीको दैनिक कोभिड-१९ परिक्षण गर्नुपर्नेछ।

स्पेनमा २ जुनबाट खाली रंगशालामा फुटबल शुरू गर्ने तयारी गरिएको छ। मिडियालाई खेल लाइभ गर्नमात्र प्रवेश दिइनेछ भने अभ्यास सत्रमा प्रवेश दिइने छैन।

यसै साताबाट जर्मन बुन्डेसलिगा भने शुरू भएको छ। यससँगै महामारीपछि शुरू हुने बुन्डेसलिगा युरोपको पहिलो ठूलो लिग बनेको छ। स्पेनमा कोभिड-१९ कारण २७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्