सांसद 'अपहरण' प्रकरण: प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझायो

काठमाडौं। नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठसहित पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध दर्ता भएको सांसद अपहरण मुद्दाको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घटनास्थल मुचुल्कासहित सम्बन्धित सबै पक्षसँग बयान लिएर अनुसन्धान सकेको हो।

परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइसकिएको जानकारी दिए।

१० वैशाखमा पूर्वआईजीपी सर्वेन्द्र खनालसहित सांसदद्वय बस्नेत र श्रेष्ठले आफूलाई अपहरण गरेर जबरजस्ती काठमाडौं ल्याएको समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको आरोप छ।

उनले शरीर बन्धक तथा अपहरणसम्बन्धी उजुरी दिएका थिए। सांसद यादवले आफूलाई अपहरण गरिएको भन्दै महानगरीय प्रहरी परिसर र जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरी दिन गएका थिए। शुरुमा दुवै निकायले जाहेरी दर्ता गरेका थिएनन्। पछि सरकारी वकिल कार्यालयले जाहेरी दर्ता गरेर प्रहरीकोमा पठाएको थियो। त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरेको हो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सूचना अधिकारी नमुराज खनालले पनि प्रहरीले उक्त मुद्दाको अनुसन्धान प्रतिवेदन कार्यालयमा बुझाएको जानकारी दिए। “प्रहरीले अनुसन्धान सकेको भन्दै कार्यालयमा प्रतिवेदन बुझाएको छ”, उनले भने, “हामी अनुसन्धान कार्य पूरा भए/नभएको हेर्छौ। त्यसपछि बाँकी प्रक्रिया अघि बढ्छ।”

प्रतिक्रिया दिनुहोस्