त्रिवि शिक्षण अस्पतालको प्रसुति गृह सिल, थप सुरक्षा सतर्कता अपनाइयो

काठमाडौं। कोरोना संक्रमणका कारण ३ जेठमा मृत्यु भएकी सिन्धुपाल्चोककी महिला २४ वैशाखमा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन्। अस्पतालमा सुत्केरी भएकी महिलामा कोभिड-१९ पुष्टि भएपछि प्रसुति गृह बन्द गरिएको छ।

शिक्षण अस्पतालका कोभिड १९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले तत्कालका लागि प्रसुति गृह बन्द गरिएको जानकारी दिए।

“यहाँबाट सुत्केरी भएर गइसकेकी महिलाको मृत्यु भएपछि थप सतर्कता अपनाएका छौं”, उनले भने, “महिलाको सम्पर्क आएकाहरुको पहिचान गरिसकेका छौं। उनीहरुको स्वाब नमूना संकलन गरेर परीक्षण गर्ने तयारी भइरहेको छ।” ती महिला २३ बैशाखमा अस्पतालमा भर्ना भएकी थिईन्। अर्को दिन शिशुलाई जन्मदिनएपछि २५ वैशाखमा डिस्चार्ज गरिएको थियो।

अस्पतालले प्रसुति गृहमा कार्यरत चिकित्सक र अन्य स्वास्थ्यकर्मी तथा सहयोगीहरुको नमूना संकलन गरेर परीक्षणका लागि पठाउन लागिएकोसमेत जनाएको छ। उनीहरु सबैको रिपोर्ट नआउँदासम्म प्रसुति गृह बन्द गर्ने अस्पताल प्रशासनले निर्णय गरेको हो।

त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि आएकी कपिलवस्तुकी ६ वर्षीया बालिकामा पनि संक्रमण देखिएपछि अहिले त्रिविमै कोरोनाका बिरामी उपचार गर्न बनाइएको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ। ती बालिकामा संक्रमण देखिएपछि अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामी कुरुवा र अन्यको नमूना परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्