कोरोनाबाट मृत्यु भएकी महिलाको गाउँ सिन्धुपाल्चोकको बाह्रबिसेमा चिकित्सक टोली जाँदै

काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका- ९ राम्चेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएपछि अनुसन्धानका लागि चिकित्सकको टोली त्यसतर्फ जाने भएको छ।

बाह्रबिसेमा गएर गर्नुपर्ने अनुसन्धान लगायतका विषयमा मन्त्रालयका अधिकारीबीच बैठक बसेर छलफल भएको थियो।

कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलोपटक एक महिलाको मृत्यु भएपछि त्यसको अनुसन्धान गर्न विज्ञ चिकित्सकसहितको टोली पठाउन लागिएको हो।

“टोलीले मृतक महिलाको घर, माईती गाउँ र आसपास क्षेत्रमा उनको सम्पर्कमा आएका व्यक्तिहरूका बारेमा अध्ययन गर्नेछ”, मन्त्रालयका एक अधिकारीले भने।

बाह्रबिसे नगरपालिकाका मेयर निमपुन्जो शेर्पाले मन्त्रालय र बागमती प्रदेश सरकारबाट अध्ययन अनुसन्धानको लागि स्वास्थ्यकर्मीहरूको टोली आउन लागेको जानकारी दिए।

“बाह्रबिसेमा स्वास्थ्य केन्द्र, मृतक महिलाको घर,माईती लगायत क्षेत्रमा मृतक महिलाको सम्पर्कमा रहेका मानिसहरुको नमूना संकलन गर्ने भनिएको छ”, उनले देखापढीसँग भने भने-“चिकित्सकहरुको टोलीले थप अनुसन्धान पनि गर्ने भन्ने खबर आएको छ।”

सिन्धुपाल्चोकको बाह्रबिसे-९ राम्चेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट शनिबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।

सिन्धुपाल्चोकमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएपछि हिजो, ३ जेठ राति नै सभामुख अग्निप्रसाद सापकोटा र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालबीच टेलिफोन कुराकानी भएको थियो।

सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानले सभामुख र स्वास्थ्यमन्त्रीबीच त्यहाँको परीक्षण, अनुसन्धान, अपनाउनुपर्ने थप सजगता लगायतका बारेमा छलफल भएको जानकारी दिए।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले छलफलका क्रममा त्यहाँ चिकित्सकसहितको टोली पठाएर संक्रमणका बारेमा अनुसन्धान र जाँच तीव्र बनाउने बताएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. गुणराज लोहनी नेतृत्वको चिकित्सको टोली बाह्रबिसे पठाउन लागिएकव बताइएको छ।

मन्त्रालयको टोलीसँगै बागमती प्रदेश सरकारको टोली पनि त्यहाँ जानेछ। कोरोना संक्रमणबाट महिलाको मृत्यु भएको पुष्टि भइसकेपछि उनको गाउँ राम्चे, माईती गाउँ लगायत आसपास क्षेत्र हिजो नै 'सिल' गरिसकिएको छ।

आज त्यहाँ पुग्ने चिकित्सकसहितको स्वास्थ्यकर्मीहरुको टोलीले सबैको स्वाब नमूना संकलन गर्ने भएको छ।

नगरपालिका क्षेत्रका सम्भावित क्षेत्रहरुमा थप सुरक्षा सतर्कता अपनाइएको बाह्रबिसे नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्