रुपैडिया नाकाबाट आएका २८ जनालाई क्वारेन्टाइनमा राखिने

खलङ्गा। रुपैडिया नाकाबाट आएका जुम्लाका २८ जनालाई कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिने भएको छ।

उनीहरूलाई नेपाली सेना र जिल्ला प्रहरीको स्कर्टिङमा सिधै क्वारेन्टाइनमा राखिने जनस्वास्थ्य कार्यालय प्रमुख कृष्‍ण सापकोटाले बताए।

प्रदेश राजधानीबाट मुगु र डोल्पाका नागरिक पनि जिल्ला प्रवेश गर्ने प्रमुख नाका जुम्लाको नाग्म भएर प्रवेश गर्ने भएकाले चुनौति थपिएको छ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले लकडाउन र नाका प्रवेशमा कडाइ गरिएका कारण जोखिम रोकथाममा सफलता मिले पनि भारतबाट आउने क्रम शुरु भएपछि जोखिम बढेको बताए।

“उताबाट आएका मान्छेको परीक्षण चुस्त बनाउनुका साथै लकडाउनलाई कडा पार्नुपर्छ, कर्णालीको केन्द्र सुर्खेत भएकाले प्रदेश सरकारले पनि यहाँका लागि विशेष योजना बनाउनुपर्छ”, उनले भने।

भारतबाट आएका कर्णालीका नागरिकलाई प्रदेश ५ सरकारले र्‍यापिड परीक्षणपछि जिल्ला प्रशासन कार्यालयको निगरानीमा जिल्ला जिल्ला पठाउन शुरु गरिएको छ।

बाँके प्रशासनले उनीहरूलाई सम्बन्धित प्रमुख जिल्ला अधिकरीसँग समन्वय गरेर फर्काउन शुरु गरिएको जानकारी गराएको छ।

यता कर्णाली प्रदेश सरकारले भारत उत्तरप्रदेशको बाबागञ्ज क्वारेन्टाइनमा १४ दिन बसेर फर्केकासहित विभिन्न ठाउँबाट २०० बढी नागरिकलाई स्वास्थ्य जाँचसहित सुर्खेतको क्वारेन्टाइन र क्वारेन्टाइन नपुगेकाका लागि उचित व्यवस्थापनसहित जिल्लामा पठाउने तयारी गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्