घरेलु हतियारसहित भारतीय नेपाल पसेपछि झापाको सीमामा हवाई फायर

भद्रपुर। दक्षिण झापाको कचनकबल-१ घेराबारीमा गएराति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा रहेका सुरक्षाकर्मीले हवाई फायर गरेका छन् ।

सशस्त्र प्रहरी बल २ नं हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले राति साढे ९ बजेतिर घरेलु हतियारसहित डेढ सयको सङ्ख्यामा भारतीय नागरिक १२५/१० नम्बरको सीमास्तम्भ नजिकबाट नेपाली सुरक्षा चौकीमा हुलहुज्जत गर्दै नेपाल पस्न खोजेपछि उनीहरुलाई रोक्न एक राउण्ड हवाई फायर गरिएको बताए।

नेपाली सुरक्षाकर्मीले हवाई फायर गरेपछि उनीहरु भागेर तितरवितर भएका थिए ।

भारतीय नागरिकले नेपाली भूमिमा लगाएको मकैबाली उठाउनका लागि जबर्जस्ती गर्ने क्रममा झापाको सीमा क्षेत्रमा नेपाली सुरक्षा चौकीमा भएको यो तेस्रो आक्रमण प्रयासको घटना हो ।

एक साताअघि झापा गाउँपालिका–४ सुकुम्बासी बस्तीमा १३१ नम्बरको सीमास्तम्भ नजिक रहेको नेपाली सुरक्षा चौकीमा भारतीय नागरिकले हुलहुज्जत गर्दा दुई राउण्ड हवाई फायर भएको थियो।

भारतीय पक्षबाट सो घटनाका बारेमा माफी माग्दै अबदेखि सीमामा हुलहुज्जत नगर्ने प्रतिबद्धता व्यक्त भएको थियो ।

यसैगरी डेढ साताअघि झापाको कचनकबलस्थित सीमा क्षेत्रमा तैनाथ नेपाल प्रहरीको टोलीमाथि भारतीयले आक्रमणको प्रयास गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्