कर्णाली नदीमा डुंगा दुर्घटना, बेपत्ताको खोजी हुँदै

सुर्खेत। सुर्खेत र कैलालीको सीमा क्षेत्र कर्णाली नदीमा हिजाे साँझ डुंगा दुर्घटनामा परी बेपत्ता तीनजनाको खोजी भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका–२, कोलतडीकी २५ वर्षीया मान्कु विक र उनका चार वर्षीय छोरा धनबहादुर विक तथा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका-२, धमुका १० वर्षीय हिरु विक रहेका छन्।

हिरु मान्कुका दाइ डम्मर विकका छोरा भएको बताइएको छ।

चौकुने-२, धमुबाट कैलालीको मोहन्याल गाउँपालिका-२, कोलतडी जाने क्रममा डुंगा दुर्घटना भएको हो। बेपत्ताको कैलाली प्रहरीले खोजी कार्य जारी राखेको छ।

सुर्खेत प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले लकडाउनका कारण सुर्खेततर्फबाट पुल, डुंगा बन्द भएपछि कैलालीतर्फबाट डुंगा चढेर माइतीगाउँ चौकुनेको धमु आएको बताए।

दुईजना डुंगा चालक भने पौडी खेलेर बाँच्न सफल भएका छन्।

चौकुने गाउँपालिकाले लकडाउनसँगै आफ्नो क्षेत्रमा पर्ने झोलुङ्गे पुलमा आवतजावत बन्द गर्नुका साथै डु‌ंगा चलाउन रोक लगाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्