बागलुङबाट पर्सा गएका मजदुरमा काेभिड-१९ देखिएपछि उनीहरूकाे सम्पर्कमा आएकाको जाँच हुँदै
बागलुङ। गलकोट नगरपालिकाबाट पर्सा गएका १४ मजदुरमा कोरोना संक्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूमा कोरोना जाँच हुँदैछ।

‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा पत्ता लागेका १०९ जनाको स्वाब संकलन गरी जाँचका लागि पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको हो।

स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौका अनुसार भाेलि साँझसम्ममा सबै जाँचको रिपोर्ट आउनेछ। क्वारेन्टाइनमै बसिरहेका ती मजदुरमा गलकोटबाट बस चढेर गएको १९ दिनपछि कोरोना संक्रमण पुष्टि भएको थियो।

नगरपालिकाले बस चढाइ पठाएका ८० मजदुरमध्ये १४ जनामा कोरोना देखिएको थियो।

सबै मजदुर निर्माणका क्षेत्रमा काम गर्थे। हिजाे र आज गरी चार वडामा स्वाब सङ्कलन गरिएको थियो।

वडा नं ३ मा २६, ५ मा २९, ६ र ७ मा गरी ५५ जनाको स्वाब लिइएको वडा नं ३ का अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए। जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सर्वसाधारणलगायत गरी १०९ जनाको स्वाब सङ्कलन गरिएको छ।

जिल्लाबाट गएका मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीयवासीमा त्रास छाएको थियो। यद्यपि उनीहरूको संक्रमणको स्रोतबारे केही थाहा हुन सकेको छैन।

गत चैतमा भेटिएका दुई संक्रमित उपचारपछि निको भई घर फर्केयता जिल्लामा थप संक्रमित भेटिएका छैनन्। संक्रमण रोक्न उच्च सतर्कता अपनाइएको छ। बन्दाबन्दीलाई झन् कडा तुल्याइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्