धुलिखेल अस्पतालमा सुत्केरीको मृत्यु- पीसीआर परीक्षण गरियो, नतिजा आउन बाँकी

काठमाडौं। काभ्रेको धुलिखेल अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ।

कोरोनाको पनि उपचार हुने गरी तोकिएको धुलिखेल अस्पतालमा उनको बिहीबार राति मृत्यु भएको अस्पतालका फोकल पर्सन नरेन्द्र झाले पुष्टि गरे।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ घर भएकी २९ वर्षीया उनको मृत्युको कारण भने खुलेको छैन। त्रिवि शिक्षण अस्पतालमा नौ दिनअघि सुत्केरी भएकी उनलाई अस्पतालबाट घर फर्केपछि श्‍वासप्रश्‍वासमा समस्या भएको भन्दै धुलिखेल अस्पताल ल्याइएको थियो।

उनको अस्पतालमा मृत्यु भएको धुलिखेल अस्पतालका डा. रमेश मकाजु श्रेष्ठले पनि पुष्टि गरे।

“हामीले मृत्यु भएकी महिलाको कोराना परीक्षण पनि गरिरहेका छौंं,” उनले भने, “दिउँसोसम्म रिपोर्ट आएपछि मात्रै मृत्युको कारण यकिन गर्न सकिन्छ।”

अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै उनको मृत्युको कारणबारे जानकारी दिने बताए। मृतकको शव अहिले धुलिखेल अस्पतालमै छ।

काठमाडौं महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएपछि उनलाई बाह्रबिसे ल्याइएको र श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि धुलिखेल लगिएको जानकारी प्राप्त भएको सिन्धुपाल्चोकका जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईंले बताए। उनका अनुसार बाह्रबिसे स्वास्थ्यकेन्द्रले धुलिखेल अस्पताल रेफर गरेको थियो । धुलिखेल अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको चापागाईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्