पालुङबाट आमाबुवासँग हिँडेरै आएका थिए सतुंगलका संक्रमित ७ वर्षीय बालक

काठमाडौं। कोरोना संक्रमण देखिएका चन्द्रागिरी नगरपालिका-१० सतुंगलका सात वर्षीय बालक आमाबुवासँग पैदलै मकवानपुरको पालुङबाट आएको पुष्टि भएको छ।

पालुङ घर भएका बालकका परिवार सतुंगलमा डेरा गरेर बस्दै आएका थिए। २९ वैशाखमा त्यहाँबाट हिँडेरै उनीहरू लकडाउनको समयमा सतुंगल पुगेको वडाध्यक्ष गोपालकृष्ण महर्जनले जानकारी दिए।

“लकडाउनको समयमा बाहिरबाट आएको भनेर छिमेकीले वडामा खबर गरेका हुन्,” उनले भने, “त्यसपछि हामीले उनीहरूलाई जाँच गर्न पठाएका थियौं। बालकमा शुक्रबार रिपोर्ट पोजिटिभ देखियो। आमाको रिपोर्ट भने नेगेटिभ आएको छ।”

वडाध्यक्ष महर्जनले बालकका बुवाले भने अझै नमूना परीक्षण नगराएको बताए। ती बालकको कन्ट्रयाक्ट ट्रेसिङ भइरहेको छ।

स्थानीय प्रशासनले बालक बस्दै आएको घर दुई साताका लागि सिल गरेको छ। आसपास क्षेत्रमा आवातजावत पनि बन्द गरिएको वडा कार्यालयले जनाएको छ। संक्रमित बालक र आमाको बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्