सीमामा रोकिएका नेपालीलाई खानाको व्यवस्था भएनः नगरप्रमुख

झापा । भारतले दशगजामा ल्याएर नेपालीहरूलाई खानाको व्यवस्था नगरी राखेको मेचीनगर नगरपालिकाले आरोप लगाएको छ । नगर प्रमुख विमल आचार्यले उनीहरूको तत्काल उद्धार गरेर स्वदेश भित्र्याउनुपर्ने अवस्था रहेको बताए ।

भारतले नेपालसँगको सहमति एकतर्फी रूपमा तोडेको आचार्यले बताए । संकटका बेला पनि भारतको हेपाहा प्रवृत्ति देखिएको उनले आरोप लगाए ।

सीमामा रोकिएका नेपालीलाई नेपाल भित्र्याएर क्‍वारेन्टाइनमा राख्‍ने तयारी भइरहेको उनले बताए ।

काँकडभिट्टा नाका आसपासको दशगजा क्षेत्रमा करिब एक हजार दुई सय नेपाली अलपत्र रहेको उनले जानकारी दिए । उनीहरूलाई राख्‍न झापाका १५ वटै पालिकासँग छलफल भइरहेको उनले बताए ।

सीमाका नेपाली भन्छन्ः ‘खाना पाएनौं’

यसैबीच, बाँकेको जमुनाहमा रोकिएका नेपालीले दुई दिनदेखि खाना र पानी राम्रोसँग नपाएको गुनासो गरेका छन् । मजदुरीका लागि भारत गएका नेपाली लकडाउन भएपछि नेपाल फर्किने क्रममा अलपत्र परेका थिए । १५ दिनअघि सीमामा आए पनि भारततिरै फकाईएको सिमकोट गाउँपालिका-२ हुम्लाका वीरेन्द्र बोहराले जानकारी दिए ।

सीमामा आएको ४५ दिन भए पनि अझै नेपाल भित्रिन नपाएको जुम्लाको हिमा गाउँपालिकाका गोगनबहादुर शाहीले बताए ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जमुनाह नाकामा करिब सात सय नेपाली आइपुगेको जानकारी दिए । उनीहरूको व्यवस्थापनमा जुटेको उनले बताए ।

“नाकामा आएका सबैको र्‍यापिड डाइग्‍नोस्टिक टेस्ट (आरडीटी) भइरहेको छ,” उने भने, “परीक्षणपछि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग समन्वयमा जिल्लासम्म पुग्‍ने व्यवस्था मिलाउँदैछौं ।” रासस

प्रतिक्रिया दिनुहोस्