बुन्डेसलिगा आजदेखि शुरू हुनेः मास्क, परीक्षण र खाली रंगशाला

काठमाडौं। समर्थक हुँदैन। जितको उन्मादमा रमाउने हुँदैनन्। हारमा निराश हुने पनि हुँदैनन्। शान्त।

कोभिड-१९ महामारीका कारण दुई महीना स्थगनपछि शनिबारदेखि शुरू हुने जर्मन बुन्डेसलिगा पहिलेको भन्दा नितान्त फरक हुनेछ।

त्यहाँ मैदानमा खेलाडी सँगसँगै जाने बालबालिका हुने छैनन्। खेल अगाडि प्रतिस्पर्धी टीमका खेलाडीसँग कुनै सम्पर्क हुने छैन। एकअर्कालाई छुने छैनन्। रेफ्री तथा खेल अधिकारीसँग हात मिलाउने काम हुने छैन। वैकल्पिक खेलाडी मास्क लगाएर अलग बस्‍नुपर्नेछ। गोल भए पनि रंगशालामा कुनै उत्साह हुने छैन। खेलाडीलाई पनि भावनालाई नबग्‍न सुझाइएको छ। प्रशिक्षकले खेलाडीलाई निर्देशन दिँदा मात्र मास्क खोल्न पाउने अनुमति छ। नभए उनीहरू कम्तिमा १.५ मिटरको दूरीमा बस्‍नुपर्नेछ।

रंगशालामा हुने त्यो अद्भुत माहोललाई परिपूर्ति गर्न स्काई टीभीले दर्शकका लागि समर्थकले हुटिङ गरेको गाएको तथा अन्य प्रतिकृयाको पहिल्यै रेकर्ड भएको आवाज राख्‍ने विकल्प प्रस्ताव गरेको छ। बोरूसिया मोन्चेनग्लाडवाचले बाँकी होम खेलमा समर्थकको कृतिम आकृति राख्‍ने भएको छ।

कतिपय समर्थक लिग शुरू गर्ने निर्णयको विरुद्धमा छन्। जर्मन ब्रोडकास्टरले गरेको सर्वेक्षणमा लिग शुरू गर्ने निर्णयविरुद्ध मत धेरै देखिएको थियो। तर केही क्लब र फुटबल अधिकारी भने लिग पुन: शुरू गर्न आतुर थिए। अन्तत: कोभिड-१९ बाट नयाँ संक्रमित हुनेको संख्यामा कमी आएपछि ६ मेमा जर्मन चान्सलर एन्जेला मर्केलले लिग शुरू गर्न अनुमति दिएकी थिइन्। तर, उनले आफ्नो प्राथमिकताको सूचीमा फुटबल नरहेको स्पष्‍ट पारिन्।

पछिल्लो पटक जर्मन बुन्डेसलिगा ११ मार्चमा खेलाइएको थियो। त्यतिबेला जर्मनीमा भर्खरै भाइरस संक्रमित देखिन थालेको थियो। अज्ञानता वा त्यसबाट हुने खतराको अवमूल्यनका कारण बोरूसिया मोन्चेनग्लाडबचका सयौं समर्थक बन्द रंगशालाबाहिर भेला भएका थिए। उक्त खेलमा उनीहरूको टीमले कोलोनलाई २-१ ले पराजित गरेको थियो। मोन्चेनग्लाडबचका खेलाडीले पछि समर्थकसँग खुशी मनाएका थिए। उक्त दृश्यपछि फुटबल अधिकारीले यस्तो घटना नदोहोरिने बताएका छन्।

‘‘हामी निगरानीमा खेल्नेछौं,’’ लिगका कार्यकारी प्रमुख अधिकृत क्रिष्‍टियन सेइफर्टले भने।

गत शनिबार दोस्रो श्रेणी लिगको क्लब डायनामो ड्रेस्डेनका दुई खेलाडीको कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएपछि सम्पूर्ण खेलाडीलाई १४ दिनको क्‍वारेन्टाइनमा राखिएको छ। लिगमा उनीहरूको सहभागिता हुने शंका छ। कार्ल जेइस जेना, माग्डेबर्ग र हालेस्चर एफसीजस्ता क्लबलाई ट्रेनिङ गर्ने अनुमित नभएपछि तेस्रो श्रेणीको लिग सञ्‍चालनमा बाधा पुगेको छ। जर्मन फुटबल फेडेरेसनको २६ मेदेखि शुरू गरेर सबै लिग एकसाथ सक्ने योजनामा थियो। शीर्ष डिभिजनका क्लबहरूले भने यस्तो समस्या भोग्‍नु परेको छैन।

शीर्ष श्रेणीको लिग बुन्डेसलिगामा ९ चरणका खेल बाँकी रहँदा बायर्न म्युनिख चार अंकको स्पष्ट अग्रतासहित शीर्ष स्थानमा छ। बायर्नले आइतबार युनियन बर्लिनसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो स्थानको बोरूसिया डर्टमण्डले शनिबार रूर डर्बी खेलमा साल्केलाई आतिथ्य प्रदान गर्नेछ। तेस्रो स्थानको आरबी लिपजिगले फ्रेइबर्गलाई घरेलु मैदानमा निम्त्यानेछ। मोन्चेनग्लाडबच भने फ्र्यांकफर्टको भ्रमणमा निस्कनेछ। शीर्ष क्लब बायर्नको ५५, डर्टमण्डको ५१, लिपजिगको ५० तथा मोन्चेनग्लाडबचको ४९ अंक छ।

क्लबहरूले क्‍वारेन्टाइनको स्थितिमा यस साता अभ्यास गरेका थिए। औसबर्गका प्रशिक्षक हाइको हार्लिचले शनिबार हुने उल्फसबर्गविरुद्धको खेल गुमाउने भएका छन्। औसबर्गमा प्रशिक्षकका रूपमा डेब्यू गर्न लागेका हार्लिचले क्‍वारेन्टाइनको नियम उल्लंघन गरेका कारण शनिबारको खेल गुमाउने भएका हुन्। उनले टुथपेष्‍टलगायत सामान किन्‍न बजार जाँदा उनले नियम उल्लंघन गरेका हुन्। अब दुई पटक कोभिड-१९ परीक्षणको नतिजा नेगेटिभ आएपछि मात्र उनी टीममा फर्किनेछन्।

लिगलाई स्वच्छ रूपमा सञ्‍चालन गर्न खेलाडी, प्रशिक्षक तथा अन्य टीमका अधिकारीसहित २० हजारभन्दा धेरैमा भाइरस परीक्षण गरिनेछ। तर, यसले खेलाडीमा पूर्ण रूपले त्रास अन्त्य भएको छैन। तीन जनामा कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएपछि कोलोनका मिडफिल्डर बिरगर भर्सट्रेटले क्लबको आलोचना गरेका थिए भने युनियन बर्लिनका रक्षक नेभेन सुबोटिकले सबै खेलाडीका लागि ‘अनिश्‍चितताको अवस्था’ रहेको बताएका छन्। उनले बीबीसीसँगको अन्तरवार्तामा भनेका छन्, ‘‘सकारात्मक निचोडका साथ लिगबाट बाहिर निस्कन असम्भवजस्तै छ।’’

दुई महीना मैदानबाहिर रहेका खेलाडीमा चोटको सम्भावना हुने भएका कारण तीन जनाको सट्टा पाँच खेलाडी ‘सब्स्टिच्युड’ गर्न पाइने व्यवस्था छ। जर्मनीमा दोस्रो श्रेणीको लिग पनि शनिबारदेखि नै शुरू हुनेछ।

कोभिड-१९ का कारण स्थगित भएका युरोपका पाँच ठूला लिगमध्ये पुनः शुरू हुने बुन्डेसलिगा पहिलो हो। फ्रान्सको फ्रेन्च लिग वान बीचमै रद्द गरियो। अहिले इङ्लिस प्रिमियर लिग, इटालियन सिरी ‘ए’ र स्पेनिस ला लिगाले जर्मन अधिकारीहरूले कसरी जोखिम व्यवस्थापन गर्छन् भनेर नजिकबाट नियालेर हेरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्