तुलसीपुरका संक्रमित व्यक्ति त्रिवि शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी

काठमाडौं। तुलसीपुर उपमहानगरपालिका ७ का ३४ वर्षीय युवक महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको खुलेको छ।

राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ती युवकमा संक्रमण पुष्‍टि भएको थियो।

युवकको स्थायी ठेगाना दाङ भए पनि हाल जिल्लामा नभएको खुलेको छ।

दाङका प्रमुख जिल्ला अधिकार गोविन्दप्रसाद रिजालले ती युवक दाङमा नरहेको र उनी त्रिवि शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको खुलेको बताए।

“यहाँ न ती युवक बसेका छन्, न स्वाबको नमूना संकलनका लागि पठाइएको छ,” उनले भने, “काठमाडौंमै उनको परीक्षण भएको रहेछ। उनी अहिले काठमाडौंमै छन्।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको सूचनामा ती युवकको ठेगाना दाङ उल्लेख गरेको थियो। टिचिङ अस्पतालमै उपचारका लागि भर्ना भएकी एक ६ वर्षीया बालिकालाई पनि कोरोना संक्रमण पुष्‍टि भएको थियो। ती बालिकाको सम्पर्कमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई क्‍वारेन्टाइनमा राखिसकिएको छ।

दाङको गढवा गाउँपालिका ४ र ५ का दुईजना भने भारतको मुम्बईबाट कपिलवस्तुको कृष्‍णनगर नाका हुँदै प्रवेश गरेका थिए। उनीहरू त्यहाँ केहीदिन क्‍वारेन्टाइनमा बसेपछि गाउँपालिकाकै सहयोगमा फर्किएका थिए। संक्रमितलाई दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पतालमा बनाइएको आइसोलेसन कक्षमा उपचारार्थ भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्