सुर्तीको पातबाट कोभिड-१९ विरुद्ध खोप !
<p>लन्डन। कोभिड-१९ को महामारी नियन्त्रणमा लिन संसारभर विभिन्न प्रयोग भइरहेका छन्। कोही पुरानै औषधिलाई प्रयोगमा ल्याएर बिरामीलाई निको पार्न सकिने आकलनमा छन् भने कोही नयाँ खोप र औषधिको खोजीमा छन्। यस्तै खोजी गरेको छ, चुरोट बनाउने संसारका सबैभन्दा ठूला कम्पनीमध्येको एक ब्रिटिस अमेरिकन टोबाको (बीएटी) ले।</p>
<p>बेलायतको राजधानी लन्डनमा मुख्यालय रहेको उक्त कम्पनीले सुर्तीको पातबाट कोरोना भाइरस मार्ने खोप तयार पारेको दाबी गरेको छ। र, मानिसमा त्यसको परीक्षणका लागि तयार भएको बताएको छ।</p>
<p>त्यसका लागि सुर्तीको पातमा उपलब्ध प्रोटिनको प्रयोग गरिएको कम्पनीको भनाइ छ। “प्रि-क्लिनिकल परीक्षणमा यस खोपको रेस्पोन्स राम्रो देखिएको छ,” कम्पनीले विज्ञप्तिमार्फत भनेको छ।</p>
<p>अमेरिकी फुड एन्ड ड्रग एजेन्सीको अनुमति मिल्नासाथ जुनको अन्तिम साता यसको परीक्षण शुरु हुने कम्पनीको अनुमान छ। बीबीसीका अनुसार अप्रिलमै उक्त कम्पनीले सरकारले अनुमति दिए एक सातामा ३० लाख डोज खोज तयार पार्ने घोषणा गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
