क्वारेन्टाइन र आइसोलेसनले जनमानसमा पारेकाे मनोवैज्ञानिक प्रभावबारे सर्वेक्षण शुरू

काठमाडौं। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड-१९ का कारण जनमानसमा क्वारेन्टाइन र आइसोलेसनले पार्न गएको मनोवैज्ञानिक प्रभावबारे सर्वेक्षण शुरू गरेको छ।

अहिलेको महामारीको रूपमा चलिरहेको कोभिड-१९ लाई ध्यानमा राख्दै परिषद्ले सर्वेक्षण गर्न लागेको जनाएको हो।

परिषद्का अनुसार यो सर्वेक्षणले मनोवैज्ञानिक प्रभावबारे जानकारी हासिल हुने र त्यसबाट नीति निर्माणमा सहयोग पुग्ने विश्वास लिएको छ।

यो सर्वेक्षणमा सहभागी हुन १० मिनेट समय लाग्ने परिषद्ले जनाएको छ।

कोभिड-१९ का विषयमा जानकारी लिन सूचना हासिल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको भाइबर ग्रुप, मोबाइल एप तथा वेबपेजमा यसका बारेमा जानकारी उपलब्ध गराइएको छ।

परिषद्ले चैत महीनामा विदेशबाट नेपाल फर्किएका र अन्य कारणले क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका सबै व्यक्तिलाई सर्वेक्षणमा सहभागी हुन भनेको छ।

त्यस्तै क्वारेन्टाइन र आइसोलेसनमा बसिसकेर निस्केको सात दिन पूरा भएका व्यक्तिले पनि सहभागी हुन आग्रह गरेको छ।

सर्वेक्षणका लागि ३५ वटा प्रश्नहरू समावेश गरिएका छन्। सर्वेक्षणमा सहभागिता स्वेच्छिक हुने परिषद्ले जनाएको छ।

सहभागीहरूले जवाफ दिन नचाहेको प्रश्न खाली छोड्न सक्नेछन्।

सर्वेक्षणमा सहभागी हुनुअघि सूचना फारम तथा सहमति पत्रमा स्वीकृति दिनुपर्नेछ।

सर्वेक्षणमा सहभागीको नाम, उमेर, धर्मलगायत विविध किसिमका ३५ वटा प्रश्नावली राखिएका छन्।

प्रतिक्रिया दिनुहोस्