दाङमा पहिलोपटक भेटिएका तीन संक्रमितमध्ये दुईजना भारतबाट आएका थिए

काठमाडौं। कर्णाली प्रदेशबाहेकका ६ वटा प्रदेशका २४ जिल्लामा मात्रै देखिएको काेराेना संक्रमण दाङमा पनि पुष्टि भएसँगै अब संक्रमण देखिएकाे जिल्ला २५ पुगेकाे छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दुईजना र भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा एकजना गरेर दाङमा आज पहिलोपटक तीनजनामा संक्रमण देखिएको हाे।

राप्तीमा पोजिटिभ देखिएपछि दुईजनाकै क्रस जाँच गर्न नेपालगञ्ज नमूना पठाइएको थियो। त्यहाँ पनि परीक्षण रिपाेर्ट पोजिटिभ आएको हो।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा पोजिटिभ देखिएका दुईजना दाङको गढवा गाउँपालिका ४ र ५ का रहेको बताए।

अर्का युवकको ट्राभल हिस्ट्री अहिले नै जानकारी भइनसकेको उनकाे भनाइ छ।

तुलसीपुर उपमहानगरपालिका-७ का ३४ वर्षीय युवकको भने भेरी अञ्चल अस्पतालमा नमूना परीक्षण भएको थियो। गढवाका २३ र ३६ वर्षीय युवक हुन्। उनीहरू दुवैजना भारतको मुम्बईबाट आएका थिए।

ती दुवैजना कपिलवस्तुको कृष्णनगर सीमा नाका भएर प्रवेश गरेका थिए। त्यहाँ उनीहरू सातदिन क्वारेन्टाइनमा बसेका थिए। पछि त्यहाँबाट गढवा गाउँपालिकाले गढवा उद्योग वाणिज्य संघको एम्बुलेन्स पठाएर उनीहरूलाई उद्धार गरेको थियो।

उक्त एम्बुलेन्समा पाँचजना आएका थिए। एकजना भने बाटोमै झरेका थिए।

चारजनाको नमूना संकलन भएको थियो। तीमध्ये दुईजनाको रिपोर्ट पोजिटिभ देखिएको छ।

प्रतिष्ठान, लमही अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय प्युठानबाट संकलन भएका ९१ वटा नमूनामध्ये ८९ मा नगेटिभ र दुईजनामा पोजिटिभ देखिएको छ।

आज बेलुकीको अद्यावधिक विवरणअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ। दाङका विभिन्न स्थानमा अहिले साँझसम्म ९७ जना क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्