पीपीई लगाएर ड्युटीमा खट्न थाले ट्राफिक प्रहरी

काठमाडौं। लकडाउन कार्यान्वयन गराउन अग्रपंक्तिमा खटिने ट्राफिक प्रहरीले पीपीईसहितका सुरक्षा उपकरण प्रयोग गरेर ड्युटी गर्न थालेका छन्।

कोरोना भाइरस संक्रमणको उच्च जोखिमबाट बचेर काम गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका मुख्य चोक तथा नाकामा खटिने ट्राफिक प्रहरीलाई स्वास्थ्य सुरक्षाका सामग्रीसहित खटाएको हो।

उपत्यकाको २६ वटा मुख्य चोक तथा नाकाहरूमा खटिने ट्राफिक प्रहरीलाई पीपीई (पर्सनल प्रोटेक्ट इक्विपमेन्ट) र ४६ स्थानमा फेस सिल्ड (भाइजर) तथा पञ्जा लगाई ड्युटी गर्ने व्यवस्था मिलाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

“ट्राफिक प्रहरी सडकमा प्रत्यक्षरूपमा खटिनुपर्ने भएकाले माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट बच्नका लागि पूर्व सावधानी अपनाउन यस्तो व्यवस्था गरिएको हो”, एसएसपी ढकालले भने।

पर्याप्त मात्रामा पीपीई नभएकाले त्यस्ता स्थानमा खटिने ट्राफिक प्रहरीलाई भने कम्तीमा दुई मिटरको दूरी कायम राखी सुरक्षित भई जाँच गर्न भनिएको छ।

महाशाखाले प्रत्येक ट्राफिक प्रहरीलाई स्यानिटाइजरसँगै मास्क, पञ्जा, साबुन आवश्यकताअनुसार वितरण गरिरहेको र यसबाट बच्ने उपाय तथा पालना गर्नुपर्ने सावधानीलगायतका विषयहरूमा नियमितरूपमा ब्रिफिङसमेत गरिरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

उनले लकडाउनलाई कडाइका साथ पालना गराउन खटिने सम्पूर्ण ट्राफिक प्रहरीलाई सुरक्षित भई सामाजिक दूरी कायम राखी चेकजाँच र सवारी व्यवस्थापन गर्न दैनिक निर्देशन र अनुगमन एवं सचेत गराउने काम भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्