काेराेना संक्रमित भाग्न खाेजे सुरक्षाकर्मीले गोलीसमेत हान्न सक्ने

काठमाडौं। पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत दुईजना काेभिड-१९ संक्रमित भागेपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेसँगै अस्पताल, क्वारेन्टाइन क्षेत्रलगायतका स्थानमा सुरक्षा व्यवस्था कडा बनाइएको हाे।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गंगा पन्तले थप सुरक्षा व्यवस्थामा कडाइ गरिएको जानकारी दिइन्। सीसीएमसीको बैठकले आइसोलेसनमा रहेका संक्रमित बिरामी भाग्न खोजे सुरक्षाकर्मीले बल प्रयोग गर्ने र आवश्यकता परेमा गोलीसमेत हान्न सक्ने निर्णय गरेको छ।

“सुरक्षा व्यवस्था त कडा नै थियो। बिरामी नै भाग्न थालेपछि थप सतर्कता अपनाउन थालिएको छ”, उनले भनिन्, “बल प्रयोगको अवस्था आएमा त्यो पनि गर्ने र गोलीसमेत हान्न सक्ने भन्ने निर्णय भइसकेको छ।”

३१ वैशाखमा नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेका दुईजना आइसोलेसन वार्डबाट शौचालयको भ्यान्टिलेसन फोडेर भागेका थिए। ती मध्ये एकजनालाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो। अर्का व्यक्तिलाई उनकै आफन्तको सहयोगमा साँझपख नियन्त्रणमा लिएको थियो।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ लाई टेकेर बैठकले आवश्यकता परे सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्