६ वैशाखमा बाराबाट एम्बुलेन्समा काठमाडौं आएका थिए दहचोक बस्ने बालक

काठमाडौं। कोरोना संक्रमण पुष्‍टि भएका काठमाडौंको चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्‍ने सात वर्षीय बालक ६ वैशाखमा काठमाडौं आएको खुलेको छ।

बारास्थित मामाघर पुगेका ती बालक र उनकी आमा एम्बुलेन्स चढेर काठमाडौं आएको खुलेको हो।

चन्द्रागिरी-१ का वडाध्यक्ष राजेन्द्र केसीका अनुसार ६ वैशाखमा काठमाडौं आएका उनीहरूको ३१ वैशाखमा मात्रै स्वाबको नमूना संकलन भएको थियो। “काठमाडौं पुगेको एक महिनापछि मात्रै बाराबाट आएको भन्‍ने जानकारी भयो,” उनले भने, “हामीले तत्कालै सशस्त्र प्रहरी बल अस्पतालमा लगेर नमूना संकलन गरायौं। हिजो बच्चामा संक्रमण देखियो तर आमामा भने संक्रमण देखिएन।”

६ चैतमा छोरालाई लिएर ती महिला बारास्थित माइती घर पुगेकी थिइन्। दोलखा स्थायी घर भएका उनीहरू दहचोकमा बस्दै आएका छन्।

“एम्बुलेन्समा आफन्त पर्ने नै बिरामी भएपछि त्यसैमा उनीहरू पनि चढेर आएका रहेछन्,” वडाध्यक्ष केसीले भने, “काठमाडौं पुगेर उनीहरू घर आएछन्। बाँकी टिचिङ अस्पतालमा उपचारका लागि गएका रहेछन्।”

वडाध्यक्ष केसीले एम्बुलेन्समा आएकाहरूका बारेमा बुझ्‍ने काम भइरहेको बताए। संक्रमित बालकलाई उपचारका लागि पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

काठमाडौंमा संक्रमित देखिएका अधिकांश लकडाउनको समयमा अन्य जिल्लाबाट सवारी पास, एम्बुलेन्सलगायत प्रयोग गरेर काठमाडौं प्रवेश गरेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्