कोभिड-१९ को औषधि बनाउन भारतीय र पाकिस्तानी कम्पनीसँग सम्झौता

नयाँदिल्ली। कोभिड-१९ का बिरामीका लागि अमेरिकामा प्रयोग भइरहेको औषधि रेमडेसिभिरको निर्माता गिलिएडले भारत र पाकिस्तानका कम्पनीसँग उत्पादन सम्झौता गरेको छ।

उक्त अमेरिकी कम्पनीले भारत र पाकिस्तानका पाँचवटा औषधि उत्पादक कम्पनीसँग सम्झौता गरेको हो। दुई मुलुकमा उत्पादित औषधि एक सय २७ वटा मुलुकमा पुर्‍याउने गिलिएडको लक्ष्य छ।

विभिन्न मुलुकमा गरिएको क्लिनिकल परीक्षणमा रेमडेसिभिरको प्रयोगबाट १५ दिनको साटो बिरामी ११ दिनमै ठीक हुने गरेको पाइएको थियो। यो औषधि गिलिएडले इबोला रोगीका लागि तयार पारेको थियो।

गिलिएडका अनुसार भारत र पाकिस्तानका पाँच कम्पनीलाई औषधि बनाउने प्रविधि उपलब्ध गराइने छ। र, तत्काल ती कम्पनीले उत्पादन थाल्न सक्ने छन्।

गिलिएडले भारतीय र पाकिस्तानी कम्पनीहरूसँग कोभिड-१९ लाई लिएर विश्‍व स्वास्थ्य संगठनले आपतकालीन अवस्था नहटाएसम्म र कोभिड-१९ कै लागि खोप या औषधि तयार नभएसम्म रोयल्टी नलिने भएको छ।

भारतका सिप्ला, हेटेरो ल्याब्स, जुबिलेन्ट लाइफ साइन्सेस र माइलन नामका कम्पनीसँग सम्झौता भएको हो। यस्तै, पाकिस्तानको फिरोजसन्स ल्याबोरेट्रिजसँग गिलिएडले सम्झौता गरेको छ।

प्रतिक्रिया दिनुहोस्