राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झासहित ६ जनालाई स्पष्टिकरण सोधियो

काठमाडौं। नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्वीकृति बिना विदेशीसँग मिलेर नेपालका कोरोना भाइरस संक्रमित एक युवाको अनुवंशिक (जिनेटिक) अनुसन्धान गरेको भन्दै छ जना चिकित्सकलाई स्पष्टिकरण सोधेको छ।

परिषद्का प्रशासन शाखा प्रमुख युवराज खरेलले पत्र लेख्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झा, प्रयोगशालामै कार्यरत डा. रञ्जित शाह, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोला, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे, डा. विवेककुमार लाल र डा. हेमन्तचन्द्र ओझालाई स्पष्टिकरण सोधेका हुन्।

९ माघमा चीनबाट आएका विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो। नेपालमा परीक्षण प्रयोगशाला शुरु नभइसकेकाले ती युवकमा कोभिड-१९ को संक्रमण भए/नभएको जाँच गर्न हङकङ पठाइएको थियो।

युवामा संक्रमण भए/नभएको जाँच गर्न पठाइएको नमूनालाई सरकारी निकायबाट अनुमति नै नलिइ विदेशी संस्थाहरूसँग मिलेर अनुसन्धान गर्न दिएपछि उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढेको हो।

“यसलाई स्पष्टीकरणले मात्रै हुँदैन”, मन्त्रालयका एक उच्च अधिकारीले भने- “यसमा संलग्नलाई कानून अनुसार कडा भन्दा कडा कारवाही हुनुपर्छ।”

उनीहरूले परिषद्लाई नै थाहै नदिई संक्रमित युवाको स्वाब संकलन गरी अनुसन्धानका लागि विदेशीलाई दिएको बताइएको छ।

उनीहरूले नेपालका कोभिड-१९ संक्रमित एक युवाको जिनेटिकको अनुसन्धानमा विदेशीलाई संलग्न गराइ ‘माइक्रोवायोलोजी रिसोर्स अनाउन्समेन्ट’ को अनुसन्धानमूलक लेखमा परिषद्को स्वीकृत नलिई प्रकाशन गरेको भन्दै परिषद् ऐन २०४७ को दफा १२ (३) बमोजिम स्पष्टिकरण सोधिएको परिषद्का प्रशासन प्रमुख खरेलले बताए।

परिषद्ले लेख प्रकाशित भएपछि २६ वैशाखमा स्पष्टिकरण सोध्ने निर्णय गर्दै उनीहरूलाई २९ वैशाखमा पत्र पठाएको थियो।

“नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ११ बमोजिम कुनै पनि मानवस्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को पूर्वस्वीकृति लिनुपर्नेमा स्वीकृति नलिइकन अनुसन्धान कार्य सम्पन्न गरी वैज्ञानिक लेख प्रकाशन गरेको हुँदा तपाईहरुले परिषद्‍बाट स्वीकृत नलिई उक्त अनुसन्धानमूलक लेख प्रकाशन गरेवापत तपाईहरुलाई किन कारवाही नगर्ने?” पत्रमा भनिएको छ, “कारवाही गर्न नपर्ने कुनै मनासिब कारण भए सोको स्पष्ट लिखित जवाफ प्रमाणसहित यो पत्र प्राप्त भएको मितिले सात दिनभित्र परिषद्‍मा पेश गर्न निर्देशानुसार जानकारीका लागि अनुरोध छ ।”

प्रतिक्रिया दिनुहोस्