‘जुनुको जुत्ता’को अन्तर्राष्ट्रिय प्रिमियर हुँदै

काठमाडौं। नेपाली छोटो चलचित्र ‘जुनुको जुत्ता’को अन्तर्राष्ट्रिय प्रिमियर हुने भएको छ।

१३ मेदेखि शुरू भएको ‘इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’ मा फिल्मले सहभागिता जनाउन लागेको हो।

‘जुनुको जुत्ता’ले हालै अमेरिकाको लस एन्जेल्स इन्टरनेसनल फिल्म फेस्टिभलको ‘इन्डि सर्ट फेस्ट’मा ‘बेस्ट चिल्ड्रेन सर्ट फिल्म’ अवार्ड जितेको थियो।

विश्वकै पुरानो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ६६ औं संस्करणमा ‘जुनुको जुत्ता’ दर्शकलाई देखाइन लागिएको हो।

केदार श्रेष्ठको निर्देशनमा बनेको यो फिल्म अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटीसन’ विधा अन्तर्गत १६ मेमा प्रिमियर हुनेछ।

‘जुनुको जुत्ता’मा जुत्ता-चप्पल उल्टो लगाउने सानो नानीको कथा छ। ह्यापी ह्यूज प्रोडक्सन, थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयुक्त निर्माण रहेको उक्त चलचित्रलाई सरुन मानन्धरले खिचेका हुन् भने विप्लपराज पोखरेलले सम्पादन गरेका हुन्।

फिल्ममा ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हामू लामा, खड्क कुमारी लगायतको अभिनय छ।

१९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल यो पटक भने कोरोनाका कारण अनलाइन संस्करण आयोजना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्