कर्णाली प्रदेश बाहेकका २२ जिल्लामा कोरोनाको संक्रमण, अहिलेसम्म झण्डै ८५ हजारको परीक्षण

काठमाडौं। पीसीआर विधिबाट कोभिड-१९ परीक्षण शुरू भएपछिको १०७ दिनको अवधिमा नेपालभर २२ हजार ६६४ जनाको नमूना परीक्षण गरिएका छन्।

नियमित प्रेस ब्रिफिङको क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज मात्रै एक हजार ३६३ वटा नमूना परीक्षण गरिएको जानकारी दिए।

९ माघमा चीनबाट आएका विद्यार्थीमा पहिलो संक्रमण फेला परेको थियो। उनको परीक्षण गर्न नमूना विदेश पठाइयो।

नेपालमा १४ माघबाट पीसीआर विधिबाट परीक्षण थालिएको हो।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १५ माघमा ४ वटा नमूना परीक्षण गरिएको थियो।

प्रवक्ता देवकोटाका अनुसार १९ चैतबाट आरडीटी किट विधिबाट परीक्षण थालिएकोमा आजसम्म ६२ हजार ३२७ नमूना परीक्षण भएको जनाएको छ।

पछिल्लो २४ घण्टामा दुई हजार ८ जनाको आरडीटी परीक्षण गरिएको छ।

“शुरूमा परीक्षणको दायरा बढाउन सकिएको थिएन्”, उनले भने, “अहिले परीक्षणको दायरा बढाइएको छ।” अहिले देशैभर १८ वटा स्थानमा पीसीआर विधिबाट परीक्षण गर्ने प्रयोगशाला रहेको मन्त्रालयले जनाएको छ।

देशैभर अहिलेसम्म संक्रमितको संख्या २४६ पुगेको छ। तीमध्ये १९८ जना पुरुष र ४८ जना महिला छन्।

३५ जना निको भएर घर फर्किसकेका छन्। मन्त्रालयका अनुसार हालसम्म देशका ६ वटा प्रदेशका २२ जिल्लाहरुमा कोरोना संक्रमण देखिएको छ।

प्रदेश १ का ३, प्रदेश २ का ७ जिल्ला, बागती प्रदेशका ४, गण्डकी प्रदेशका २, प्रदेश ५ का ५ र सुदूरपश्चिम प्रदेशका २ जिल्लामा संक्रमण देखिएको हो।

कर्णाली प्रदेशमा भने अहिलेसम्म संक्रमण देखिएको छैन।

देशैभरका अहिले १५ हजार ६०० जना क्‍वारेन्टाइनमा छन्। क्वारेन्टाइन बेडसंख्या ५३ हजार ८३५ रहेको छ।

संक्रमित र सम्भावित संक्रमित गरेर २७२ जना आइसोलेसनमा रहेका छन्। उपत्यकामा ६ जना र बाँकी अन्य प्रदेशमा रहेको मन्त्रालयको भनाइ छ।

३६ हजार ४६५ जनाले स्वमूल्यांकन फारम भरेका छन्। अहिलेसम्म सम्भावित संक्रमित हुनसक्ने ३५९ जनालाई 'रेड जोन' मा राखिएको छ।

उनीहरू सबैको 'कन्ट्याक्ट ट्रेसिङ' को काम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्